तिथिमा देखिएको अलमल र अनुत्तरित प्रश्न
SamacharDesk – केके मानन्धर | २०७९ कार्तिक ८, मंगलबार

तत्कालीन नेपालमण्डलका राजा राघवदेवको पालामा सुरू गरिएको नेपाल संवतले प्रकारान्तरमा नेपालको राष्ट्रिय संवत्को रुपमा मान्यता पाएको छ । शंखधर साख्वाःले देशकै नाउँमा स्थापित गराएको नेपाल संवत् मौलिक संवत् हुनुले सुखद संयोग जुराएको छ ।
मल्लकालमा तत्कालीन नेपाल बाहिरसमेत प्रयोग भएको नेपाल संवतले कालखण्डमा थुप्रै उतारचढावको सामना गर्नुपर्यो । मध्यकालमा राज्यस्तरले प्रयोग गरेको नेपाल संवत्लाई श्री ३ चन्द्र शमशेरले विस्थापित गरेका हुन् । नेपालका १३औं प्रधानमन्त्री तथा श्री ३ महाराजले १२ राशिका संक्रान्तिलाई प्रवेश गराई भारतीय विक्रम संवत् नेपालमा चलाएका हुन् ।
सन् १९०१ देखि १९२९ सम्म शासन गरेका चन्द्र शम्सेरले विस्थापित गराएदेखि यसको साखमा पटक पटक धावा बोल्ने काम भएको छ । चतुर तथा केही हदसम्म सुधारक शासकको रूपमा उदाएका चन्द्र शमशेरदेखि सुरू भएको नेपाल संवत्विरुद्धको राजनीति निरन्तर छ । राजनीतिको प्रकृति भलै फरक छ, तर यो षड्यन्त्र अझै कायम छ ।
तानाशाही राज्य व्यवस्थामा नेपाल संवतको पक्षमा नेवार समुदायबाट थालिएको आन्दोलन दबाइए पनि प्रजातन्त्र बहालीसँगै यसको स्वरूप परिवर्तन गरी आन्दोलनलाई पनि निरन्तरता दिइएको छ । नेपाल संवतलाई राष्ट्रिय संवत् बनाउनुपर्ने मागसहित विभिन्न चरणमा आन्दोलन भए ।
पञ्चायती व्यवस्थामा केही हदसम्म यो आन्दोलन सिथिल भएपनि लोकतन्त्रसँगै यसले उच्च सफलता हासिल गर्यो । नेपाल संवत् आफैमा संकीर्ण सोच, जातीय मुद्दा तथा सरकारविरोधी अभियान ठान्नेहरूले फरक प्रकृतिमा उपलब्धि मास्ने कुटिल प्रयास गरेका छन् । त्यसमध्ये तिथिमा अलमल गरेर नेपाल संवत् व्यावहारिक छैन भन्ने प्रमाणित गर्न खोज्नु अर्को नेपाल संवतविरुद्धको षड्यन्त्र हो ।
अरु केही होइन, नेपाल संवत् स्थापित हुँदै गएको नरुचाउने तत्वले तिथिमा अलमल छ भन्ने प्रमाणित गर्न खोजिरहेको छ । यो सरासर गलत रणनीति हो ।
७० प्रतिशत भन्दा बढी नेपालीहरुको चाड मनाउने आधार, तिथिमा राजनीति गर्नु कसरी ठीक हुनसक्छ ? दोषारोपण काठमाडौंले भक्तपुरलाई गर्ला, भक्तपुरले ललितपुरका दैवज्ञलाई गर्ला तर मुख्य दोषी तिनिहरु हुँदै होइनन्, बरु प्रत्येक वर्ष एकैदिन दुईटा तिथि परेको बखेडा झिक्ने आधिकारिक निकाय दोषी हो । त्यसलाई मान्नुपर्छ भन्ने विचार र मान्नुहुन्न भन्ने विचार दोषी हो ।
खासमा नेपाल संवत् अव्यवहारिक छ भन्ने प्रमाणित गर्नको लागि भूमिका खेल्ने मानसिकता सबसे बढी दोषी हो । त्यसैले अब, काठमाडौंमा न्हूदँ समारोह समिति, ललितपुरको क्वाःबहाः, भक्तपुरको तलेजुबाट प्रेशित हुने सुचनामा एकरूपता आउनु जरुरी छ । त्यसपछि मात्र लक्ष्मीपूजा, म्हपूजा र किजापूजामा अलमल नहुने होला । नत्र, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलाई मात्र दोषी देखाएर तीन शहर चोखिन छुट छैन ।
पञ्चाङ्ग भन्दा नि तीन शहरको तीनवटै विचारको बेमेल मुख्य दोषी हो । अझ खगोल विज्ञानको ‘ख’ सम्म पनि ज्ञान नभएकाहरुले नेतृत्व गरेको संस्थाले विज्ञप्ति जारी गरी तिथिमा देखिएको अलमल र सांस्कृतिक पर्व मनाउने सम्बन्धमा निर्देशनात्मक आग्रह गरेको देखिन्छ ।
सम्बन्धित विज्ञसँग छलफल, परामर्श समेत नगरी सार्वजनिक आह्वान हुँदा आम नागरिकबीच समस्या भएको छ । कतिसम्म भने स्थानिय सरकार, खलः, पुचः, क्लब र टोल सुधार समितिले समेत विज्ञप्ति जारी गरी सांस्कृतिक पर्वको लागि आग्रह गरेको देखिन्छ । त्यसरी आह्वान र आग्रह गर्नुलाई आधिकारिक मान्यता दिन सकिन्छ वा अराजक मान्नुपर्छ ? यो अनुत्तरित प्रश्न हो । अब उप्रान्त वार्षिक पात्रो बनाउँदै मिलाउन सक्नुपर्छ अनिमात्र संस्कृतिमाथिको भेद राजनीति अन्त्य होला ।
एक त सरकारी मान्यता प्राप्त पञ्चांगले सांस्कृतिक पक्षदेखि खगोल विज्ञानलाई सही व्यवस्थापन गरेर सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने देखिन्छ भने अर्कोतिर विवादरहित पात्रो प्रकाशन गर्नुपर्ने देखिन्छ । आम नागरिकले आधार मान्ने पात्रो नै हो, त्यसमै अलमल भएपछि सांस्कृतिक रूपमा विचलन हुनु स्वाभाविक छ ।
सभ्य समाजको प्रतिविम्ब रूपी संस्कृतिलाई नै प्रभावित बनाउने नियोजित षड्यन्त्र नेपाल संवत्माथि लाद्नु दुर्भाग्यपूर्ण छ ।
नेपाल संवतका उपलब्धिः
१) शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणाः २०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।
२) नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाइयोः गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रिपरिषद् बैठकको निर्णय । मिति २०६५ कात्तिक ७ गते ।
३) नेपाली पाठ्यक्रममा नेपाल संवत् र शंखधर साख्वाः समावेशः स्थानीय पाठ्यक्रम लागू हुनुअघि नेपाली पाठ्यक्रमअन्तर्गतको कक्षा ६ को पाठ १६ मा नेपाल संवत् र शंखधर साख्वाःको विषय समावेश छ ।
४) हुलाक टिकटमा शंखधरलाई स्थानः नेपाल संवत् ११२४ अर्थात् २०६० सालमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री कमल थापाबाट हुलाक टिकटमा पहिलो टाँचा लगाइयो ।
५) शंखधरको प्रतिमा अनावरण तथा माल्यार्पणः नेपाल संवत् ११२२ मा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट शंखधर साख्वाःको प्रतिमा अनावरण तथा माल्यार्पण कार्यक्रम सम्पन्न भएको थियो ।
६) सरकारी लेटर प्याडमा नेपाल संवतकाे प्रयोगः प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाको कार्यकालमा ११२८ देखि सरकारी लेटर प्याडमा नेपाल संवतकाे प्रयोग भएको हो ।
७) नेपाल संवतको नयाँ वर्षमा सार्वजनिक बिदाको घोषणाः २०७० सालको यस निर्णयलाई नेपाल राजपत्रमा पनि प्रकाशित गरियो ।
८) पात्राे एप्लिकेशन तयारः अमेरिकाको नासामा कार्यरत भक्तपुरका शौनक रञ्जितकारले लामो समयसम्म अन्वेषण गरी वैज्ञानिक रूपमा प्रमाणित गरेपश्चात् नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत्समेत समेटेर क्यालेन्डर एप अर्थात् पात्रो एप्लिकेसन तयार गरे ।
विक्रम संवत् र इस्वी संवतमा समेत तिथिमिति हेर्न मिल्ने गरी नेपाल संवत्को एप तयार भएको छ । नयाँ तयार गरिएको एपले केहीवर्ष यतादेखि नेपाल संवतमा देखिएको घटबढको समस्या हल हुने विश्वास लिइएको छ ।
संस्थाको आह्वान र पात्रो ठाउँ अनुसारले फरक हुँदा लक्ष्मीपूजा, म्हपूजा र किजापूजा मनाउने दिनमा अलमल भएको देखिन्छ । देशका विभिन्न ठाउँमा शंखधर साख्वाःका प्रतिमा स्थापना गरिएका छन् ।
दोलखाको चरिकोट, गोरखा जिल्लाको गोरखा बजार, कास्कीको पोखरा, झापाको दमक, पाल्पाको तानसेन, बाँकेको नेपालगञ्ज, काठमाडौंस्थित कीर्तिपुरको बाघभैरव परिसर, साँखु, काठमाडौंकै शंखधर पार्क (रत्नपार्क), मध्यपुर थिमिको शंखधर चोकमा शंखधरको प्रतिमा देख्न सकिन्छ ।
मध्यपुर थिमि शंखधर चोकमा अवस्थित शंखधर साख्वाःको प्रतिमामा केही वर्ष यतादेखि सरकार प्रमुखबाट माल्यार्पण हुँदै आएको छ ।
महिनाको गणनाः
नेपाल संवतमा १२ औंसी र ३५४ दिनको एक वर्ष गणना हुन्छ । प्रत्येक तीन वर्षको एकचोटि अनला महिना अर्थात् पुरूषोत्तम महिना हुन्छ ।
नेपाल संवतका १२ महिना र पुरुषोत्तम महिनाको विवरणः
१) कछला
२) थिंला
३) पोहेला
४) सिल्ला
५) चिल्ला
६) चौला
७) बछला
८) तछला
९) दिल्ला
१०) गुंला
११) ञला
१२) कौला ।
यी बाह्र महिनामध्ये प्रत्येक तीन वर्षमा अनला महिना अर्थात् पुरूषोत्तम महिना हुन्छ ।
(लेखक सञ्चारकर्मी साथै ख्वप कलेजको मानविकी संकाय अन्तर्गत स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता अध्यापन गराउने अध्यापक हुनुहुन्छ)
Categorized in बिचार