महानगर स्तरीय पौडी प्रतियोगिता सम्पन्न
SamacharDesk – बिराज | २०८३ जेठ १९, मंगलबार
काठमाडौँ । महानगर स्तरीय पौडी प्रतियोगितामा आयोजक वडा नं. २९ टीम इभेन्टस विजेता बनेको छ ।
शनिवार र आइतबार बालाजु बाइसधारास्थित पौडी पोखरीमा सञ्चालन भएको प्रतियोगितामा १६१ अङ्क सहित आयोजक वडा टीम विजेता बनेको हो । आयोजक टीम संयुक्त रिलेको पनि विजेता बन्यो ।
प्रतियोगितामा १२१ अङ्कसहित वडा नं. ७ को टीमले दोस्रो र ११० अङ्कसहित वडा नं. २२ को टीमले तेस्रो स्थान हासिल गरे ।
खेलमा पुरुषतर्फ वडा नं. ५ का सक्षम श्रेष्ठ र महिलातर्फ वडा नं. १८ की लुमना महर्जन उत्कृष्ट खेलाडी बने । दुवै विजेताहरुलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरियो ।
विजेताहरुाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्दै वडा नं. १६ का अध्यक्ष रोजिना श्रेष्ठले आफ्नो वडाकै पौडी पोखरीमा प्रतियोगिता आयोजना हुनुले आफूलाई गौरव महसूस भएको बताए ।
आगामी वर्ष पोखरीलाई इनडोर बनाइने योजना रहेको जानकारी वडाध्यक्ष श्रेष्ठले दिइन् ।
समापन अवसरमा प्रतियोगिताका संयोजक एवं वडा सदस्य सन्तोष ढुङ्गेलले, पौडी खेल स्वस्थ्य रहनुको सूचक भएको उल्लेख गरे ।
पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले महानगरपालिकासँगको सहकार्यमा जेठ २३ र २४ गते राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीका बिचमा पौडी प्रतियोगिता हुन लागेको जानकारी गराए ।
यस पटकको प्रतियोगितामा ५० मिटर, १ सय मिटर, २ सय मिटर र ४ सय मिटर दुरीमा फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, वटरफ्लाई विधामा प्रतिस्पर्धा भएको थियो । २ सय मिटरको इन्डिभिज्युअल मेडले भएको थियो ।
महानगरपालिकाको वडा नंं २९ ले नेपाल पौडी संघसँगको सहकार्यमा ‘स्वस्थ्य सरीर, स्वस्थ्य वडा, स्वस्थ्य महानगर’ नारासहित प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा विभिन्न वडाहरुबाट ७६ जना पुरुष र ६१ जना महिलासहित १३७ जना खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।
Categorized in स्पाेर्ट्स




