क्षेत्र नम्बर ८ बाट मनोज नेवाःको स्वतन्त्र उम्मेदवारी घोषणा
SamacharDesk – बिराज | २०७९ आश्विन २२, शनिबार

सामाजिक अभियन्ताको रुपमा परिचित मनोज नेवाः खड्गीले काठमाडौं क्षेत्र नम्बर ८ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सामाजिक अभियन्ता खड्गीले उम्मेदवारीको घोषणा गरेका हुन् ।
‘भनिएको छ, कि नेतृत्त्व लेउ, कि नेतृत्त्व स्वीकार । स्वीकार्न सकिने नेतृत्त्व नै छैन । त्यसैले अब आफैले नेतृत्त्व लिने निर्णय गरेको हो’ खड्गीले भने ।
दलहरुले आम नागरिकको अपेक्षा अनुसार परिणाममुखी काम गर्न नसकेकै कारण आफुले उम्मदेवारी घोषणा गरेको खड्गीले बताए ।
यस अघिका निर्वाचनमा जितेका नेताहरुले जनताको हितमा काम गरेको भए आफुले तिनै नेताहरुलाई समर्थन गर्ने खड्गीको भनाई थियो ।
‘अहिलेसम्म हामीले निर्वाचन जिताएका नेताहरुले जनताको पक्षमा केही गरेनन्, मात्र सत्ता र पदको लागि खिचातानी मात्र गरे, अब केही परिवर्तन ल्याउनु छ भने आफैले ल्याउँ भनेर स्वतन्त्र रुपमा उम्मेदवारी दिन लागेको हो’ खड्गीले थपे ।
लोकतन्त्रमा दलहरुको अस्वस्थ, अमर्यादित क्रियाकलापको विकल्प स्वतन्त्र उम्मेदवारी मात्रै पनि नभएको उनको भनाई छ ।
तर आशलाग्दो नेतृत्व नै नभएको अवस्थामा देखिएको स्वतन्त्र उम्मेदवारीले दलहरुप्रतिको वितृष्णा देखाएको र यसैबाट पाठ सिक्दै दलहरु सचेत हुँदै सुध्रिन पनि खड्गीले सुझाव दिए ।
‘फाइदा देखिए जुट्ने, भोलि फेरी कुरा मिलेन फुट्ने, जनतलाई झुक्याउने काम मात्र भयो । उहाँहरु बिना देशै नचल्ने जस्तो, देशै उहाँहरुको कब्जामा भएको जस्तो स्थिती तोड्नको लागि अहिले स्वतन्त्र उम्मेदवारीको आवश्यकता देखियो’ खड्गीले भने ।
उम्मेदवारी दर्ता पछि आफु चुनावी प्रचारमा जुट्ने तर भोजभतेर, प्रलोभन दिने जस्ता अमर्यादित र भ्रष्टाचारी तरीका भने नअपनाउने उनको भनाई छ ।
सामाजिक अभियन्ता खड्गी नेपाल खड्गी सेवा समितिका पूर्व अध्यक्षको साथमा हाल संरक्षक छन् भने विभिन्न जातीय संघसंस्थाको छाता संगठन नेवाः जातीय महासंघका संस्थापक अध्यक्षसमेत हुन् ।
उनले विभिन्न सामाजिक संघसंस्था र सामाजिक अभियानको नेतृत्व गरेका छन् ।
Categorized in राजनीति