arin enterprises

जेठ पुर्णिमालाई राष्ट्रिय संगीत दिवस घोषणा गर्न माग

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० जेठ २२, सोमबार

संगीत दिवस भन्ने वित्तिकै तपाईँ कुन तिथि या मिति सम्झिनुहुन्छ । शायद तपाईँले जुन २१ लाई सम्झिनुभयो होला पक्कै पनि । हो, जुन २१ संगीत दिवस नै हो तर अन्तर्राष्ट्रिय ।

अब प्रश्न उठ्छ हामी नेपालीहरुको राष्ट्रिय संगीत दिवस कहिले हो त ? शायद उत्तर खोज्न गार्हो हुन सक्छ । केही कलाकर्मीहरुले भने अब जेठ पुर्णिमाको दिनलाई राष्ट्रिय संगीत दिवसको रुपमा मनाउनुपर्ने आवाज उठाएका छन् ।

यहि आवाज उठाउँदै ललितपुरमा ‘राष्ट्रिय संगीत दिवस २०८०’ कार्यक्रमको आयोजना गरिएको छ ।

आइतबार जेष्ठ पूर्णिमाको दिन ललितपुरको इन्दिरा संगीत महाविद्यालयमा शास्त्रीय संगीत समाज, नृत्य निर्देशक संघ नेपाल ललितपुर शाखा र यलमाया केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

‘हामीले हाम्रै मौलिकतालाई वास्ता गरेका छैनौं बरु, १९८२ देखि फ्रान्सबाट सुरु भएको अन्तर्राष्ट्रिय संगीत दिवसलाई भने भब्य रुपमा मनाउने गर्छौं । यस बर्षदेखि हामीले पनि इतिहास बोकेको दिनलाई किन राष्ट्रिय संगीत दिवस रुपमा न मनाउने भनेर कार्यक्रमको आयोजना गरेका हौँ” कार्यक्रम संयोजक संजय शर्मा राजोपाध्यायले बताए । आउँदो बर्षमा जेठ पुर्णिमाको दिनलाई राष्ट्रिय संगीत दिवसको रुपमा पात्रोमा उल्लेख गराउने योजना आफुहरुको रहेको पनि राजोपाध्यायले बताए ।

चन्द्रमान अनुसार जेष्ठ पूर्णिमाको दिनलाई वर्षको लामो दिनको रुपमा लिइन्छ भने सूर्यमान अनुसार जुन २१ लाई । संजोग भनौं अथवा अरु केही, यी दुवै लामा दिनहरुको सम्वन्ध संगीत र सांगितिक गतिबिधिसँग जोडिएको छ ।

जुन २१ मा पनि विश्वभरी विभिन्न सांगितिक कार्यक्रमको आयोजना गर्ने गरिन्छ भने जेठ पुर्णिमाको दिन पनि संगीतसँग जोडिएको छ । जेठ पुर्णिमाको दिनलाई राष्ट्रिय संगीत दिवसको रुपमा घोषणा गर्नुपर्ने माग आज उठेपनि यो दिन संगीतसँग जोडिन पुगेको ३८७ वर्ष भइसकेको छ ।

जेष्ठ पूर्णिमाको दिन ललितपुरको मंगलबजारमा राजा सिद्धिनरसिंह मल्लले रचेको ३१ वटा गीतसहित मेघमल्हार राग गाउने गरिन्छ । यो परम्परा ने.सं ७५६ (बि.सं १७०२) मा सुरु भएको हो । त्यो आधारमा जेष्ठ पूर्णिमाको दिनलाई काठमाडौं उपत्यकामा विगत ४ सय बर्षदेखि संगीत दिवसको रुपमा मनाईँदै आएको छ भन्न सकिन्छ । जेठ पुर्णिमाको दिनलाई स्थानीय भाषामा ज्याःपुन्हि भन्ने गरिएको छ ।

चन्द्रमान र सुर्यमान दुवै पात्रो अनुसार वर्षको लामा दिनहरुको सम्वन्ध संगीतसँग जोडिन पुगेको के संयोग हो अथवा केही विशेष कारण छ ।

‘लामो दिन बिताउन गाह्रो हुन्छ । त्यसैले यी दुवै दिनमा मान्छेहरु सांगितिक माहौलमा मनोरन्जन गर्दै दिनको गुजारा गर्ने गरेको देसखन्छ” राष्ट्रिय संगीत दिवस २०८० कार्यक्रमको एक आयोजक संस्था शास्त्रीय संगीत समाजका अध्यक्ष साथै वरिष्ठ गायक धनबहादुर गोपाली बताउनुहुन्छ ।

जेष्ठ पूर्णिमाको दिन पनि लामो हुनुको साथै निकै गर्मी पनि हुने दिन भएकोले मंगलबजारमा मेघमल्हार राग गाएर वर्षाको आह्वान गर्नुका साथै मनोरन्जन पनि लिने गरिएको वरिष्ठ गायक गोपालीको भनाई हो ।

यो पटक साधारण तरिकाले मनाइएको दिवसलाई आउँदा वर्षहरुमा भव्यरुपमा मनाउने आयोजक समितिको योजना रहेको छ ।

कार्यक्रममा मैयाँ महर्जन, संमुक्ता शर्मा, अंकिता शर्मा, बिनिता महर्जन, सहिरा महर्जनलगायतका नृत्य कलाकारले कुमारी साथै आधुनिक नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै यल माया केन्द्रबाट बाबुराजा श्रेष्ठ, मिन घलान, चिहिरो तमुरा, सुमन राना मगर, उदय श्रेष्ठ, बिनोद विकबाट सामूहिक बाँसुरी वादन र सामिप्य डंगोलबाट शास्त्रीय बाँसुरी वादन प्रस्तुत गरिएको थियो ।

गायकहरु सानु तामाङ, निल शाक्य, गायत्री राना मगर र कुमार राना मगर, कृष्ण पराजुलीले शास्त्रीय गीत, नेपालभाषाको गीत, कौडा गीत र आधुनिक गीत गाएका थिए ।

Categorized in पेजथ्री