arin enterprises

सम्पदा अभियन्ता भागवतलाई धम्की दिनेलाई कारवाहीको माग

SamacharDesk – बिकाश | २०७७ पौष २१, मंगलबार

छायाँ सेन्टरका मजदुरको सरोकार सम्वन्धमा भन्दै सम्पदा अभियन्ता भागवत नरसिंह प्रधानलाई धम्की दिएको भन्दै विभिन्न संघसंस्थाले यसको भत्सर्ना गरेको छ ।

विभिन्न २१ वटा संघसंगठनले संयुक्त विज्ञप्ती जारी गर्दै ऐतिहासिक सम्पदाको पुनर्स्थापनाको मागमा आन्दोलन चल्दै गरेकोमा मजदुरको नाममा धम्की दिएको भन्दै भत्सर्ना गर्नुका साथै दोषीलाई कारवाहीको माग गरिएको छ ।

‘सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दा अवस्थामा यस्तो कार्य गर्नु भनेको मुद्दालाई समेत प्रभावित गर्न खोजिएको स्पष्ट हुन्छ,’ विज्ञप्तीमा लेखिएको छ । आदिवासी नेवाः समुदायले कमलपोखरी सम्पदा संरक्षणका लागि जारी राखेको आन्दोलनलाई नजरअन्दाज गरी धमकी दिनु अत्यन्तै खेदपुर्ण कार्य हो ।’

अन्तर्राष्ट्रिय सम्धी र कानूनको समेत बेवास्ता गरी धम्कीपत्र पठाउने कार्य आदिवासी नेवारको लागि गम्भीर रहेको र यसले नेवाः समुदायलाई आक्रोशित समेत बनाएको पत्रमा उल्लेख गरीएको छ । सो धम्कीपूर्ण पत्रको सवालमा माफी नमागे भोलिको दिनको सम्भावित अवस्थाको जिम्मेवार स्वयम् हुने समेत पत्रमा लेखिएको छ ।

केही दिन अघि मात्रै निर्वाध व्यवसायिक क्रियाकलाप गर्न पाउने संवैधानिक हक र अधिकारविरुद्ध नियमित हस्तक्षेप गरेको र त्यस्तो गतिविधि ३ दिनभित्र वन्द गर्न भन्दै अभियन्ता प्रधानको नाममा पत्र पठाइएको थियो । पत्रमा नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, केन्द्रीय कमिटिका अध्यक्ष सुर्य बहादुर कुवँर र युनिट्राभ केन्द्रीय कमिटिका अध्यक्ष सुमन पराजुलिको हस्ताक्षर रहेको छ ।

 

Categorized in समाज