arin enterprises

नियन्त्रित बजार व्यवस्था हटाउन सुनचाँदी व्यवसायीको आग्रह

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७९ चैत्र १२, आइतबार

सुनचाँदि ब्यबसायीले व्यवसाय संचालन गर्नका लागि आवश्यक मापदण्ड तथा निर्देशिका प्रकाशन नहुँदा सुनचाँदी खरिद कारोबार असुरक्षित भएको बताएका छन् ।

काठमाडौँ सुनचाँदी ब्यबसायी संघको २० औ वार्षिक साधारण सभामा ब्यबसायीले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा बोल्दै काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरेश शाक्यले पारदर्शी र वैज्ञानिक मूल्यमा तौलमा ग्यारेन्टीसहित शुद्ध तथा गुणस्तरिय सुनचाँदीका गरगहनाहरु बनाई सेवा दिइरहेका ब्यबसायीहरुले यो समयमा धेरै समस्या भोग्नुपरेको बताए ।

‘विदेशबाट फर्कने नेपालीहरुले आफ्नो सुविधामा ल्याउने गरगहना  उनीहरुको आवश्यकता अनुसार खरिदबिक्री गर्न नदिँदा, स्थानिय बजारमा पुराना गरगहना फिर्ता हुन आउने खरिदलाई आधिकारिक मान्यता प्रदान नगदौ पनि समस्या भएको छ । यो राज्यको ठुलो कमजोरी हो’ अध्यक्ष शाक्यले बताए ।

१० लाख वा सो भन्दा माथिको कारोबार गर्ने ग्राहकको केवाइसी भरेर फाइनान्सियल इन्टलिजेन्स युनिटमा १५ दिन भित्रमा प्रतिवेदन पठाउनु पर्ने जस्ता व्यवस्थाले गर्दा सुनचादी व्यवसाय गर्ने अवस्था नभएकोप्रति पनि संघले राज्यको ध्यानाकर्षण गराएको छ ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका सांसद हरिप्रभा खड्गी श्रेष्ठले ब्यबसायीलाई सहज हुनेगरी ब्यबस्था परिमार्जन गराउन संघीय सरकारलाइ सुझाब दिने बिश्वास दिलाउनुभयो । नेपाली मौलिक परम्परागत गरगहनामा स्वदेशी कालिगढमा निर्भर हुने गरि प्रशिक्षण दिनका लागि सरकारको तर्फबाट सहयोगी भूमिका हुनुपर्नेमा सांसद खड्गी श्रेष्ठले जोड दिए ।

‘हाम्रा परम्परागत गरगहनाहरु हाम्रो संस्कृति, संस्कारहरुसँग जोडिएको छ । यस्तो गहना बनाउने कालिगढहरु पाउन गार्हो छ । आधुनिक साथै परम्परागत गहना बनाउने स्थानीय कालिगढ उत्पादनमा संघीय सरकारले पनि ध्यान दिनु पर्छ’ सांसद श्रेष्ठले भनिन् ।

त्यस्तै राष्ट्रिय उपभोक्ता मंचका संयोजक प्रेमलाल महर्जनले राज्यले स्थानीय कर, आन्तरिक राजस्व कर, वाणिज्य कर, सुनको भन्सार गरी वार्षिक रुपमा सुनचाँदी व्यवसायीबाट मात्र अरबौं उठाउँदै आएको तर व्यवसायीहरुको समस्याको कुनै सुनुवाई सरकारबाट नभएको विचार राखे ।

नेपाल सरकारले १५ वर्षदेखि सुनमा कोटा प्रणाली लगाउनुका साथै बैंकहरुले मात्र आयात र विक्री गर्न पाउने व्यवस्था गरेर व्यवसायीहरुको अपमान गरेको धारणा राखे ।

नेपाल सुनचाँदि ब्यबसाय महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपाल सरकारबाट छिटो भन्दा छिटो नियन्त्रित बजारको व्यवस्था हटाउँदै खुल्ला बजार नीति अनुसार निजी क्षेत्रलाई समेत प्रतिस्पर्धा गर्न दिन आवश्यक देखिएको बताउनुभयो ।

‘नेपालको सुन बजारमा दैनिक ३० केजी सुनको आवश्यकता छ तर नेपाल राष्ट्र बैंकबाट दैनिक १० केजी सुनमात्र उपलब्ध गराईरहेको अवस्था छ । आपूर्ति कम र माग बढी भएको कारण यस क्षेत्रमा विभिन्न दुषित मनसाय भएका व्यक्तिहरुको प्रवेश भई सुनचाँदीको कालोबजारीले सम्पूर्ण व्यवसायीको नै बदनाम भइरहेको छ’ अध्यक्ष शाक्यले बताए ।

सुनचाँदी व्यवसायीहरुको माग बमोजिम सिजनमा दैनिक ३० केजी र अफ सिजनमा २० केजी सुन बैंक तथा व्यवसायीमार्फत आपूर्ति गराउन सरकारले ध्यान दिनुपर्नेमा शाक्यले जोड दिए ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य, पूर्व अध्यक्ष मणिरत्न शाक्य, काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्यलगायतको समेत उपस्थिती रहेको थियो ।

Categorized in बिजनेस