arin enterprises

पुल्चोक घटनामा पक्राउ परेकाहरुलाई निशर्त रिहाइ गर्न माग

SamacharDesk – बिकाश | २०७७ भाद्र २१, आइतबार

गत विहिबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा पक्राउ परेकाहरुलाई रिहाईको माग गर्दै विभिन्न संघसंस्थाहरुबाट विज्ञप्तीहरु सार्वजनिक भइरहेका छन् । 

यसैक्रममा गुथि विधेयकको आन्दोलनको क्रममा सक्रिय रहेका विभिन्न ३५ संघसंस्था र व्यक्तिको नामबाट पनि संयुक्त विज्ञप्ती जारी भएको छ ।

नेपाः युथ अर्गनाइजेसनको पहलमा जारी विज्ञप्तीमा विहिबार पुल्चोकको घटनालाई लिएर भइरहेको धरपकडको भत्सर्ना गर्दै पक्राउ परेकालाई निशर्त रिहाइ गर्न माग गरकेको छ । 

‘आधिकारीक निकाय कतैबाट पहल नभई रथ जात्रा अलपत्र छोडिदिँदा, धर्म, संस्कृतिप्रतिको चिन्ता बोकेर आएका जनसमुदायलाई पानीको फोहरा हान्ने, टियर ग्याँस हान्ने काम आपत्तीजनक छ’ विज्ञप्तीमा उल्लेख गरिएको छ । 

साथै पुल्चोकबाट मात्र नभई घरघरमै गएर अभियन्ताहरुलाई धरपकडक गर्ने र पक्राउ परेका अभियन्ताहरुलाई भेटघाट गर्न गएकालाई समेत गरिएको धरपकडले राज्यको तानाशाही प्रवृित्त देखिएको पनि विज्ञप्तीमा दावी गरीएको छ । 

आदिवासी नेवाःहरुको गुठीलाई स्वायत्तता नदिएको कारणले नै पुलचोक घटना घट्न गएको भन्दै नेवाःहरुको गुठीलाई स्वायत्तता र स्वसासन दिन पनि माग विज्ञप्तीमार्फत माग गरिएको छ ।

‘धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्व बोकेको रातो मच्छिन्द्रनाथ जात्राको त्रममा घटेको घटनामा राज्यको ब्यवस्थापकिय क्षमता नभएको स्पष्ट देखिएको छ’ विज्ञप्तीमा दावी गरिएको छ ।

रथ बनिसकेको र बुङ्गद्यो रथारोहण भइसकेको अवस्थामा सुरक्षित र व्यवस्थित ढङ्गबाट जात्रा सम्पन्न गर्नका लागि पटक पटक ताकेता गरेको अवस्थामा पनि गुठी संस्थान ललितपुर, जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महागरनपालिका लगायत सरोकारवाला सरकारी निकाय गैरजिम्मेवार बनेको पनि ठहर गरिएको छ । 

विज्ञप्ती जारी गर्न अघि गुथि विधेयकको आन्दोलनमा सक्रिय रहेका विभिन्न अभियन्ता र संघसंस्थाका प्रतिनिधिहरुको भेला काठमाडौंमा सम्पन्न भएको थियो ।

भेलामा सहभागीहरुले पुल्चोक घटनामा पक्राउ परेका अभियन्ताहरुको निशर्त रिहाईका लागि आवश्यक परे सडकमा उत्रनेसम्मको विषयमा छलफल गरेको थियो ।

भेलामा सामाजिक अभियन्ता पवित्र बज्राचार्य, राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका प्रतिनिधिहरु, जनसरोकार समन्वय समितिका संयोजक श्यामकृष्ण प्रजापति लगायतको उपस्थिती थियो  ।

साथै उपत्यकाव्यापी सडक विस्तार पिडित संघर्ष समितिका सुमन साय्मि, सेभ नेपाः भ्यालीका सुरज महर्जनको साथै विभिन्न संचार गृहमा कार्यरत संचारकर्मीहरु समेतको उपस्थिती रहेको थियो ।

Categorized in समाज