arin enterprises

सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ पौष १४, बुधबार

नेपाल पत्रकार संघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरिएको छ ।

स्वर्गीय श्रेष्ठको १०६औं जन्मजयन्तीको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार महासंघ, सञ्चारग्रामको सभाहलमा आयोजना गरेको समारोहका वक्ताहरुले सो माग गरेका हुन् ।

२००८ सालमा श्रेष्ठकै अध्यक्षतामा नेपाल पत्रकार संघको स्थापना भएकाले उहाँलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने पत्रकार राष्ट्रिय दबूको माग हो ।

सो अवसरमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महासंघको संस्थापक बहसबारे महासंघका सम्बद्ध पक्ष पन्छिन नहुने बताउनुभयो ।

‘नेपाली सञ्चारवृतमा उठिरहेको महासंघको संस्थापक अध्यक्ष बारेको बहसमा सम्बद्ध पक्षले जवाफ दिन आलटाल गर्ने होइन, यसबारे गम्भीर बहस र छलफल गर्नुपर्दछ’ अध्यक्ष बस्नेतले भन्नुभयो ।

समारोहमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले संस्थापक अध्यक्षको बहसको उद्देश्य २०१२ सालमा महासंघको नेतृत्व गर्नुहुने कृष्णप्रसाद भट्टराईप्रति अनादर गर्न नभई तथ्यलाई स्थापित गर्ने प्रयास रहेको बताउनुभयो ।

पत्रकार दबूका सल्लाहकार एवं वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले सत्य र तथ्यका लागि लड्ने पत्रकारले इतिहासको तथ्यको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।

मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिँह, सत्यनारायण श्रेष्ठकी सुपुत्री सुजिता मानन्धर, पत्रकार दबूका निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जन लगायतले श्रेष्ठको योगदानको अवमूल्यन हुन नहुनेमा जोड दिँदै महासंघको अध्यक्षको रुपमा अहिले देशकै गौरवशाली व्यक्ति अगाडी भएकोले सत्यतथ्य सबैलाई थाहा भएपनि कसैले सम्बोधन नगरेको धारणा राखेका थिए ।

त्यस्तै, दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले संचारग्राममै संस्थापक अध्यक्ष श्रेष्ठको प्रतिमा स्थापना गर्नुपर्ने बताउँदै जन्मजयन्ती मनाउने जिम्मेवारी पनि पत्रकार महासंघले नै लिनुपर्ने बताउनु भयो ।

समारोहमा प्रमुख अतिथीको रुपमा व्यक्ति विशेष कसैलाई उल्लेख नगरी स्वर्गीय श्रेष्ठलाई नै प्रतिकात्मक रुपमा कार्यक्रमको मुख्य व्यक्तिको रुपमा सम्बोधन गरिएको थियो ।

नेपाली सञ्चारवृतमा गृष्मबहादुर देवकोटाको नेपाली छापाखानाको इतिहास नामक पुस्तक र केही अन्य दस्तावेजलाई आधार लिएर महासंघको संस्थापक अध्यक्ष्बारे बहस हुँदै आएको छ ।

एक दशक यता पत्रकार दबूले अभियानलाई निरन्तरता दिनुका साथै विगत ३ बर्षदेखि प्रत्येक पुस १३ गते उहाँको जन्मजयन्तीको आयोजना पनि निरन्तर गर्दै आएको छ ।

Categorized in समाज