arin enterprises

फुटपाथ पसल सम्वन्धी जिप्रकाको आदेश कामपाको निती विपरीत रहेको उपमेयर खड्गीको भनाई

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ भाद्र २६, शुक्रबार

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले फुटपाथ र ठेलागाडा व्यापारका कारण काठमाडौंमा महामारी नियन्त्रण बाहिर जानसक्ने बताएकी छिन् ।

काठमाडौंमा फुटपाथ व्यापार सम्वन्धमा ध्यानाकर्षण गराउन काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेकी उपमेयर खड्गीले काठमाडौंमा संक्रमण फैलँदो अवस्थामा रहेको समयमा फुटपाथ र ठेलागाडा व्यापार संचालन भएमा महामारी नियन्त्रण बाहिर गएर नियन्त्रण र रोकथाम गर्न नसकिने बताइन् ।

आज उपमेयर खड्गी जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशमा फुटपाथ पसल र ठेलागाडा व्यापार सम्वन्धी बुँदामा ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेकी थिइन् ।

जिप्रका काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशको बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ’ भनी उल्लेख गरेको छ ।

उपमेयर खड्गीले सो वाक्यांश हटाएर पुनः आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षण गराएकी हुन् । उपमेयर खड्गीले प्रजिअ दाहाललाई ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनः आदेश जारी गर्नुपर्नेमा जोड दिइन् ।

महानगरले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेको अवस्थामा अहिलेको आदेश महानगरको नीति विपरीत भएको खड्गीले बताइन् ।

‘अर्कोतिर सहरमा संक्रमण फैलिँदो दरमा छ । यसै पनि कन्ट्याक्ट ट्रेसिङ जटिल छ,’ उपमेयर खड्गीको भनाई छ । ‘यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रणबाहिर जान्छ ।’

ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ दाहालल जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा यस सम्बन्धि छलफल गरेर निर्णयमा पुग्ने बताएका थिए ।

सो अवसरमा कामपा १७ वडाध्यक्ष नवीन मानन्धर, २५ वडाध्यक्ष नीलकाजि शाक्य, फुटपाथ पसल हटाउ अभियानमा सक्रिय जागरुक युवा समाजका पदाधिकारी, सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

जिप्रका काठमाडौंले फुटपाथ र ठेलागाडा व्यापारको लागि समय तोकेर आदेश जारी गरेको भएपनि विभिन्न वडा कार्यालयले भने आआफ्नो वडाभित्र फुटपाथ र ठेलागाडा व्यापार निषेध रहेको सूचना जारी गरिसकेका छन् ।

साथै, जागरुक युवा समाजका संयोजक चन्द्र महर्जनले संक्रमणको जोखिम बढ्दो अवस्थामा रहेको समयमा जिप्रकाको यस्तो आदेश जनस्वास्थ्यप्रति प्रतिकुल रहेको दावी गरे ।

‘फुटपाथ पसलबाट भीडभाड बढ्ने र संक्रमण फैलने सम्भावना रहेकोले हामीले फुटपाथ पसल हटाउ अभियान शुरु गरेका हौं,’ महर्जनले भने । ‘फुटपाथ पसल हटाउ अभियान चल्दै आएको बेला जिप्रका जस्तो जिम्मेवार निकायको यो आदेश गैर जिम्मेवार देखिएको छ ।’

फुटपाथ पसलले बटुवालाई हुने गरेको असुविधा मात्र नभई संक्रमणको जोखिम समेत ध्यानमा नराखी आदेश जारी गरिए जस्तो देखिएको महर्जनले दावी गरे ।

फुटपाथ पसल हटाउनका लागि अभियान पर्याप्त नभए यसलाई आन्दोलनकै रुपमा अगाडी बढाउन पनि आफुहरु तयार रहेको महर्जनले बताए ।

Categorized in स्थानीय