देउवा संसदीय दलको नेतामा निर्वाचित
SamacharDesk | २०७९ पौष ६, बुधबार

कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।
बुधबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ९ बजेदेखि मतदान भएको थियो । निर्वाचनमा देउवाले जम्मा ८९ मत मध्ये ६४ मत प्राप्त गर्दै दलको नेतामा निर्वाचित हुनुभएको हो ।
देउवाका प्रतिस्पर्धी गगन थापाले २५ मत प्राप्त गर्नुभयो । निर्वाचनमा सबै ८९ वटै मत खसेको थियो । सुत्केरी भएर ओम अस्पतालमा रहेकी माया राईको मत अस्पतालमै पुगेर ल्याइएको थियो ।
मत दिएको फोटो नखिच्ने सहमति विपरीत केही सांसदहरुले मतदानको फोटो खिचेकोमा थापाले आपत्ति जनाउनु भएको थियो ।
उहाँले बुथमा खिचेको फोटो सार्वजनिक गर्न चुनौती दिनुभयो । मतदानलगत्तै थापाले आफ्नो उम्मेदवारी कुनै समुहबाट नभएको स्पष्ट गर्नुभयो । मतदान समयमा सिंहदरबार परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
कांग्रेस संसदीय दलको नेतामा यस पटक महामन्त्री थापाले सभापति देउवालाई चुनौती दिनुभएको थियो ।
Categorized in राजनीति