८५ वटा बौद्ध संस्थाबाट श्रद्धेय धम्मवती गुरुमां सम्मानित
SamacharDesk | २०८० बैशाख २, शनिबार

नेपालमा बुद्ध धर्म स्थापना गर्न शुरुदेखि नै योगदान दिँदै आउनुभएका श्रद्धेय धम्मवती गुरुमांलाई शुक्रबार एक समारोहका बीच सामुहिक धम्मपुजा अर्पण गरियो ।
धम्मवती गुरुमाले गृहत्याग गरी प्रव्रजित जीवनमा प्रवेश गर्नुभएको ७५ वर्ष पुगेको उपलक्ष्यमा उहाँप्रति सम्मान प्रकट गर्न नेपालका ८५ वटा बौद्ध संघ संस्थाहरूले उहाँलाई सामुहिक धम्मपुजा–पत्र अर्पण गरेको थियो ।
नेपालमा बुद्ध धर्म प्रचार प्रसार गर्ने कार्यमा धम्मवती गुरुमांको अत्यन्त ठूलो योगदान रहँदै आएको छ । जुनबेला धम्मवती गुरुमांले नेपालमा बुद्ध शिक्षाको प्रचार आरम्भ गर्नुभयो, त्यतिबेला यहाँ बौद्ध विहारहरू नगण्य मात्रामा थियो ।
उहाँले विशेषतः महिला केन्द्रित धर्म प्रचार गरी थेरवादी बुद्धशासन स्थापित गर्न योगदान गर्नुभएको थियो । धम्मवती गुरुमांले बुद्ध शिक्षा आर्जन गर्ने इच्छा राख्नुहुँदा नेपालमा थेरवादी विहार भनेको खासै बनेको थिएन ।
यस्तो अवस्थामा उहाँले म्यान्मार पुगी बुद्ध धर्म अध्ययन गर्नुभएको थियो । म्यान्मारमा १४ वर्षसम्म अध्ययन गरी उहाँ वि.सं. २०२० सालमा नेपाल फर्किनुभयो ।
र, काठमाडौंको श्रीघः विहारभित्र जग्गा किनी महिलाहरूमात्र बुद्ध धर्मसम्बन्धी अध्ययन गर्ने संस्था धर्मकीर्ति विहार स्थापना गर्नुभयो जुन अहिलेसम्म उतिकै सक्रियताकासाथ सञ्चालित भइरहेको छ ।
गुरुमां धम्मवतीको जन्म वि।सं। १९९१ को असार पूर्णिमाका दिन पाटनको ओकुबहालमा भएको थियो । त्यतिबेला पाटनमा बुद्ध धर्म सम्बन्धी प्रवचन दिन एक वर्मी भिक्षु आउनुभएको थियो ।
उहाँको प्रवचन सुन्दै गर्दा धम्मवतीलाई पनि म्यान्मार गई बुद्ध धर्म अध्ययन गर्ने इच्छा जागृत हुन थाल्यो । त्यतिबेला उहाँ जम्मा १४ वर्षकी हुनुहुन्थ्यो । उहाँलाई म्यान्मार जाने अनुमति घरबाट प्राप्त भएन ।
त्यसैले एकदिन उहाँ घरमा कसैलाई केही जानकारी नदिई राति घरबाट भागेर म्यानमार पुगी १४ वर्षसम्म बुद्ध शिक्षा आर्जन गर्नुभएको थियो ।
आफ्नो अध्ययनका क्रममा उहाँले वर्मीज सरकारले कुनै पनि विदेशीलाई प्रदान गर्ने सबैभन्दा ठूलो धार्मिक उपाधि ‘सासनधज धम्मचरिय’ सम्मान बाट समेत विभूषित हुनुभएको छ ।
अहिले गुरुमां धम्मवतीको संरक्षकत्वमा नेपालका विभिन्न जिल्लाहरूमा महिलाहरूमात्र बस्ने गरी निर्माण भएका धेरै बौद्ध विहारहरू सञ्चालित छन् ।
कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठ लगायत म्यान्मारका राजदूत, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, भाषिक अभियन्ता मल्ल के. सुन्दर, डा. रीना तुलाधर, अ. खेमावती गुरुमां आदिले धम्मवती गुरुमांसँग सम्बन्धित प्रशंगहरूबारे बोल्नुभएको थियो ।
Categorized in समाज