३० खर्ब रुपैयाँको आइटी निर्यात गर्ने सरकारको लक्ष्य
SamacharDesk | २०८१ जेठ २५, शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्ने बताउनुभएको छ ।
यसका लागि आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित १० वर्षमा ३० खर्ब रुपैयाँको आइटी निर्यात र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।
डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले ‘डिजिटल नेपाल फ्रेमवर्क’ परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाडौँ उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षालगायत पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालनको काम अगाडि बढाइने बताउनुभयो ।
स्वदेशमा उत्पादित सफ्टवेयरलाई प्राथमिकता दिई सार्वजनिक निकायले उपयोग गर्ने व्यवस्था मिलाइने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारी डाटा सेन्टरको स्तरोन्नति, विद्युतीय तथ्याङ्कको भण्डारण, सुरक्षा र उपयोगलाई व्यवस्थित र भरपर्दो बनाइने बताउनुभयो ।
सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका युवालाई सूचना प्रविधि सम्बद्ध उद्योगमा ‘इन्टर्न’ गर्ने व्यवस्था गरिने उहाँको भनाइ छ ।
सूचना तथा प्रविधिमाथि आम मानिसको पहुँच भएमात्रै यसबाट प्राप्त हुने लाभमा जनताको पहुँच सुनिश्चित हुनसक्ने बताउनु भयो ।
उहाँले सूचना र प्रविधि क्षेत्रका अवसर र चुनौतिको गम्भीरतालाई आत्मसाथ गर्दै सरकारले सूचना तथा सञ्चार प्रविधिलाई सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धि हाँसिल गर्ने मुख्य क्षेत्रको रुपमा अंगिकार गरेको बताउनु भयो ।
Categorized in विज्ञान-प्रविधी