arin enterprises

पुर्खाको सांस्कृतिक नासो सन्ततिमा हस्तान्तरण

SamacharDesk | २०७९ चैत्र २१, मंगलबार

मध्यपुरको पाचो धिमे खलःले आयोजना गरेको तीन महिने धिमे बाजाको औपचारिक प्रशिक्षण कार्यक्रम समापन गरिएको छ ।

कात्तिकदेखि सुरू भएको बाजा प्रशिक्षणलाई चैतको दोस्रो साता समापन गरिएको हो । बाजा प्रशिक्षण तयारीको लागि ६ महिनाको समय निर्धारण गरिएपनि औपचारिक प्रशिक्षण भने तीन महिना मात्र दिइएको हो ।

कार्यक्रममा संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका सांसद माननीय दुर्लभ थापाले धर्म, संस्कृति र कलालाई संरक्षण गर्ने अभियानमा जुटेका युवाहरुलाई आभार व्यक्त गर्र्दै आवश्यक ठाउँमा सहयोग गर्ने प्रतिबद्धता जनाए । एक फरक सन्दर्भमा भक्तपुरको जुजु धौ, लोकल रक्सी, चिउरा, तोरीको तेल लगायतलाई वैध बनाएर स्थानिय युवाहरुलाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले नगर क्षेत्रको कला, संस्कृति, बाजागाजा संरक्षणको लागि नगरपालिकाले आवश्यक सहकार्य गर्ने बताए । धिमे बाजा, बांसुरी, नौ बाजा, म्वायलि लगायत लोपोन्मुक बाजा संरक्षण गर्नुपर्नेमा जोड दिंदै धिमे बाजा प्रशिक्षण कार्यक्रम आयोजकलाई धन्यवाद दिए ।

त्यस्तै, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले संस्कृतिलाई आर्थिक पाटोसँग जोड्नुपर्नेमा जोड दिए । मूर्त र अमूर्त सम्पदालाई पर्यटन तथा कला प्रर्दशनीमार्फत व्यावसायिकरण गर्ने र गराउने क्षेत्रमा नगरपालिका सहकार्य गर्न तयार रहेको जनाए ।

मध्यपुरका जीवित सांस्कृतिक धरोहर श्री श्रीगोपाल प्रजापति मुख्य बाजा गुरु र कृष्ण प्रजापति सहायक गुरु रहेको बाजा प्रशिक्षणलाई औपचारिक कार्यक्रमकाबीच समापन गरिएको छ । नेवार संस्कार बमोजिम नासःद्यः अर्थात नाट्यश्वरलाई आह्वान गरी पूजाविधि गरेपछि प्रशिक्षार्थीहरु अनिवार्य रुपमा दिक्षित हुनुपर्ने प्रावधान रहेको बताइन्छ ।

सो आधारले पनि सुरुमा तीन दर्जन प्रशिक्षार्थीहरु सहभागी रहेपनि औपचारिक प्रशिक्षण समापन कार्यक्रममा २५ जना प्रशिक्षार्थीहरु दिक्षित भएको कार्यक्रम संयोजक सुशन प्रजापतिले जनाए ।

केही दसक अगाडिसम्म महिलालाई धिमे बाजाबाट औपचारिक रुपमा दिक्षित गर्न नहुने मान्यता थियो । महिनावारी भएकी महिलाको उपस्थितिले नाट्यश्वर आह्वान गरिने पूजाविधिमा बाधाविघ्न पैदा हुने बताइन्थ्यो ।

तर बदलिंदो परिस्थितिसँगै किसली पूजा गरी परम्परागत शैलीले दिइने प्रशिक्षणमा महिला सहभागिता बढ्दै गएको देखिन्छ । पाचो धिमे खलःले सम्पन्न गरेको धिमे बाजा प्रशिक्षण कार्यक्रममा तिलश्मी र चन्द्रलक्ष्मी प्रजापतिको उपस्थितिले अन्य महिलाहरु समेत हौसिएका छन् ।

तिलश्मी प्रजापति धिमे बाजाकी कलाकार मात्र नभएर यसअघि नै व्यावसायिक बांसुरी बाधन हुन् । उनले थुप्रै डबलीमा आफुलाई कुशल बांसुरी बाधकको रुपमा प्रस्तुत गरिसकेकी छन् ।

औपचारिक समापन कार्यक्रम अघि बाजा प्रशिक्षण लिएका युवाहरुलाई चपाचोस्थित गणेश मन्दिर अगाडि सामुहिक सगुन (मंका सगं) दिइएको थियो । सगुन कार्यक्रम पश्चात् सामुहिक बाजा प्रदर्शनी समेत देखाइएको थियो ।

नेवार संस्कारमा शुभकार्यको थालनी गर्न पञ्चतत्वसहितको सगुन दिने परम्परा रहेको छ । दहि, उसिनेको अण्डा, रक्सी, माछा लगायतका खाद्य बस्तु सम्मिलित गरेर सगुन दिने परम्परा रहेको छ ।

Categorized in समाज