बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदानको चर्चा
SamacharDesk – समाचारडेस्क | २०७८ माघ २५, मंगलबार

नेपाली नाट्यसम्राट बालकृष्ण समको १२० औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक कार्यक्रम काठमाडौँमा आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा प्रज्ञा भवनको देवकोटा सभाकक्षमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समले कविता, नाटक, कथालगायत विधामा उत्कृष्ट कृति रचना गरी नेपाली वाङ्मयको उन्नयनमा अतुलनीय योगदान गरेको बताए । “नेपाली वाङ्मयका प्रायः सबै विधामा समको उत्तिकै विशिष्ट योगदान रहेको छ,” उनले भने, “विशेष गरी नाटकका क्षेत्रमा समको योगदान अतुलनीय छ ।”
प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव एवं दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले सम पारिवारिक परिवेशकै कारण वाङ्मय क्षेत्रप्रति आकर्षित भएको बताए । “बालकृष्ण सम राणा वंशमा जन्मिएता पनि प्रजातन्त्र, न्याय र समानताका साथै देश र जनताप्रति सधैँ चिन्तित रहेको पाइन्छ,” उनले भने ।
उनले सम चित्रकारिता र अभिनयका क्षेत्रमा पनि उत्तिकै विशिष्ट रहेको बताए । कार्यक्रममा साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले स्वागत मन्तव्यका साथै कार्यक्रमको विषयवस्तुबारे प्रकाश पारे ।
कार्यक्रममा साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपालले समका रचनागत प्रवृत्ति झल्किने प्रतिनिधिमूलक कविताका अंशहरूको वाचन गरे । कार्यक्रमका सभाध्यक्ष तथा नेपाली शिक्षा परिषद्की अध्यक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञसभा सदस्य रमा शर्माले पनि बालकृष्ण समको योगदानबारे चर्चा गरे ।
कार्यक्रम सुरु हुनुअघि कमलपोखरी र प्रज्ञा परिसरमा रहेको बालकृष्ण समको प्रतिमामा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको थियो ।
तस्बिर सौजन्य – नेपाल प्रज्ञा–प्रतिष्ठानको फेसबुक पेज
Categorized in समाज