महानगरलाई सडक डिभिजनको अल्टिमेटम
SamacharDesk | २०८१ जेठ १६, बुधबार

काठमाडौं महानगरपालिकाले एकलौटी ढंगले न्यूरोडको फुटपाथ बढाउन लागेको भन्दै सडक डिभिजन कार्यालयले दुई दिनभित्र पुनःस्थापना गर्न महानगरलाई अल्टिमेटम दिएको छ ।
महानगरले न्यूरोड सडकको चौडाई कम हुने गरी दायाँबायाँ भागमा फुटपाथ बढाउन लागेको थियो । डिभिजन कार्यालयको क्षेत्राधिकारभित्र रहेको न्यूरोड सडकमा फुटपाथ बढाउने हेतु महानगरले काम थालेको थियो ।
त्यहाँ रहेको पार्किङ खाली गराएपछि सडक साँघुरो पार्ने र फुटपाथ फैलाउने महानगरको योजना छ । महानगरले केही दिन अगाडि गरेको सडक काट्ने क्रममा डिभिजन कार्यालयले हस्तक्षेप गरेपछि दुई निकायबीच टकराव बढोको छ ।
डिभिजन कार्यालयले पठाएको पत्रमा गत जेठ १२ गते विनासहमति न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा महानगरले सडक खन्ने तथा भत्काउने काम गरेको उल्लेख छ ।
उक्त कार्य सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को बर्खिलाफ हुने भएकाले तत्काल रोकी सडक यथास्थितिमा पुनःस्थापन गर्न १३ गते अनुरोध गरिए पनि हालसम्म नभएको जनाइएको छ ।
अन्यथा सार्वजनिक सडक ऐन २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने पत्रमा उल्लेख गरेको छ ।
यता सडक नै साँघुरो पारेर फुटपाथ बढाउन थालेपछि त्यसको विरोधमा स्थानीयहरु उत्रेका छन् । उनीहरुले केही दिन अगाडि न्यूरोड सडकमा लामबद्ध भई सडक बचाउ अभियान चलाएका छन् ।
फुटपाथमा हिँड्नु बटुवाहरु भने फुटपाथ साँघुरो भएर हिँड्नै गाह्रो भइरहेको अवस्थामा फुटपाथ बढाउनु राम्रै काम भएको जिकिर गर्नुहुन्छ । उनीहरुको अनुसार फुटपाथ सडकको दायाँबायाँ केही भागलाई फुटपाथ बनाउँदा सडकलाई खासै असर नहुने जिकिर गर्नुहुन्छ ।
Categorized in स्थानीय