arin enterprises

लकडाउन खुकुलो भएको भनेको संक्रमण निर्मूलै भएको हो ?

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ६, शनिबार

नेपाल सरकारले केहि दिन यताबाट लकडाउन खुकुलो गरेको छ । लकडाउन खुकुलो भएसँगै मानिसहरुको चहलपहल पनि बढ्ढो क्रममा छ ।

आज साँझ केहि सामान किन्न मंगलबजार पुगेँ । मंगलबजार पुग्ने वित्तिकै मनमा लाग्यो, ‘यहाँसम्म पुगिहाल्यो, पाटन दरबार क्षेत्र पनि गइहालौं न ।’

दरबार क्षेत्र पुग्दा म त अक्क न बक्क भएँ । कृष्ण मन्दिर, विश्वनाथ मन्दिर, महारानी पोखरी लगायतका ठाँउमा मान्छेहरुको भीड, मानौं यहाँ संक्रमणको जोखिम खालको केही कुरै छैन ।

पछिल्लो समय दिनहुँ जसो काठमाडौं उपत्यकाभित्रै कोरोना संक्रमितहरु देखिइरहेका छन् । आजकै कुरा गर्ने हो भनेपनि काठमाडौं एक र भक्तपुरमा ७ गरी आठ जना महिलामा संक्रमण पुष्टि भएको छ।

तर पाटन दरवार क्षेत्रको त्यो भीड देख्दा लाग्यो यहाँ त लकडाउन खुकुलो भएको होइन कोरोना संक्रमण नै निर्मूल भईसक्यो । अब सावधानी वा सतर्कता अपनाउनु आवश्यक नै छैन ।

‘विश्व स्वास्थ्य संगठनले जे सुकै भनिरहुन्, हामीलाई बाल मतलब’ मलाई भने मंगलबजारको भीडले यस्तै भनिरहेको महसूस भइरहेको थियो ।

जोडिहरु डेटिङ्गमै मस्त थिए । सबैतिर आँखा दौडाएँ, भौतिक दुरी भन्ने कुरो त कुन चराको नाम हो । कसैको चिउँडोमा मास्क थियो त कसैसँग छँदैथिएन । 

विश्व स्वास्थ संगठन निरन्तर घोक्रो सुक्ने गरी कराउँदैछ ‘मास्क लगाउ, साबुन पानीले राम्ररी मिचिमिचि हात धोऔं, भौतिक दुरी कायम गरौं । यति गरे यो भाइरसबाट धेरै हदसम्म बच्न सकिन्छ ।’

तर मंगलबजारको त्यो भीडमा केहि मानिसहरु समुह बनाइ बसिरहेका थिए । बिना मास्क गफ चुट्दै थिए । कोहि सेल्फि, फोटो खिच्दै हिँड्दै थिए । कसैले कुनै पनि सुरक्षाका उपाय अपनाएको देखिन ।

‘विश्व स्वास्थ्य संगठनले जे सुकै भनिरहुन्, हामीलाई बाल मतलब’ मलाई भने मंगलबजारको भीडले यस्तै भनिरहेको महसूस भइरहेको थियो ।

हाल कोरोना संक्रमण काठमाडौँ उपत्यकासहित देशको विभिन्न भागमा विश्वभरीमै तिव्र रुपमा फैलिरहेको छ । तर आज मंगलबजारको यस्तो दृश्य देखेर लाग्यो कि कोरोना संक्रमण त नेपालमा छिरेकै छैन । यहाँ केही भएकै छैन ।

आफ्नै लापरवाहीका कारण यदि संक्रमण फैलिएर यसले यहाँ पनि महामारीकै रुप लिए सरकारले त केहि गरेन भन्दै गाली गर्ने पनि शायद हामी नै हुनेछौँ ।

कोरोना भाइरस (कोभिड १९) रोग लाग्दैमा तुरन्तै ज्याने जाने त होइन । यो निको नै नुहने पनि होइन । 

अध्ययनबाट कोरोना संक्रमित २० बिरामीमध्ये १९ बिरामी त अस्पताल भर्ना नै नभइ निको भएको देखाइसक्यो । तर निकै कम उमेरका बालबालिका, पाको उमेरका र दीर्घ रोगीहरुलाई यो घाटक छ भनेर पनि अहिले वैज्ञानिकहरुले भनिरहेका छन् । 

हाम्रो कारणले कोहि बालबालिका अथवा पाको उमेरका ज्येष्ठ नागरिकहरु वा दीर्घ रोगीहरुलाई यो संक्रमणले नछोओस् भन्ने तर्फ पनि सचेत रहनु जरुरी छ । हाम्रो सानो प्रयासले यो संक्रमणलाई रोक्न सकिन्छ भन्ने सोच सबैले राख्नु जरुरी छ ।

आफ्नै लापरवाहीका कारण यदि संक्रमण फैलिएर यसले यहाँ पनि महामारीकै रुप लिए सरकारले त केहि गरेन भन्दै गाली गर्ने पनि शायद हामी नै हुनेछौँ । 

लकडाउन खुकुलो भयो भन्दैमा विगतमा जस्तै नै सामान्य तरीकाले नै हिँड्ने, सामान्य जीवन नै शूरु गर्ने समय आएको छैन भनेर नबिर्सौं । 

सरकारले केही गर्ला भनेर मुख ताकेर बस्नुभन्दा आफ्नो तवरबाट गर्न सकिने कदम हामी आफैं चालौं । अरु केही गर्नुपर्दैन, सामाजिक दुरी, मास्क पंजा लगायतका सावधानीका उपाय अपनाउँ । 

साबुन पानीले राम्ररी हात धुने, स्यानिटाइजरको प्रयोग गर्नुका साथै अनावश्यक भीडभाड नगर्ने, अनावश्यक मुखमा नछुने यति त हामी आफैं गर्न सक्छौं ।

केही समय धैर्य गरेर बसौं, साथीहरुको भेटघाट, जमघट गर्ने, घुमघाम गर्ने, जात्रापर्व मनाउन हतार गर्ने लगायतका कामबाट हामी आफैलाई र हाम्रै समाजलाई जोखिम छ भन्ने सोचेर यस्ता गतिविधिहरु अहिलेलाई नगरौं ।

घुम्न गएको जस्तो घडि जिल्ला, घडि काठमाडौं पनि नगरौं । म एकजनाको कारणले संक्रमण एक जिल्लाबाट अर्को जिल्ला जान सक्छ, एकबाट दुई, दुईबाट चार हुँदै संक्रमण सबैतिर फैलिन सक्छ भन्ने सोचेर जो जहाँ छ, त्यहिँ सुरक्षित बसौं ।

यस्ता सानातिना कुराहरुलाई सम्झेर सोही अनुसार अनुशासित भएर केही समय बस्यौं भने यो भाइरसलाई हामीले चाँडै र सजिलै परास्त गर्न सक्छौं ।

Categorized in विचार