इण्डोनेशियामा अब कुकुर–बिरालोको मासु बेच्न नपाइने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ७, आइतबार

इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर–बिरालोको मासु बेच्न नपाइने भएको छ ।
बजारमा चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राखिने गरेको थियो तर शुक्रबारदेखि कुकर, बिरालोको मासु भने बेच्न नपाइने प्रतिबन्धात्मक आदेश जारी भएपछि त्यो रोकिएको हो ।
मासुका खान पाशविकरूपमा पशुहरुलाई मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि बचाऊ अभियान थालेका थिए ।
पशुअधिकारकर्मी संस्था ह्युमेन सोसाइटी इन्टरनेश्नलले शुक्रबार जारी गरेको वक्तव्यमा विगतमा निर्दयी बनेका यस पशुबजारका व्यापारीहरु यसपटक भने कुकुर र बिरालाको मासु नबेच्न सहमत भएका जनाइएको छ ।
शुक्रबार पशुबजारका छ जना व्यापारी र तोमोहन नगरका प्रमुखबीच कुकुर–बिरालाको मासु नबेच्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
स्थानीय संस्कृतिका कारण कुकुर–बिरालाको मासु बेच्ने विश्वका अति थोरै मुलुकको सूचीमा इण्डोनेशिया रहेको छ । व्यापारीले अब उप्रान्त कुकुर–बिरालाको मासु नबेच्न प्रतिबद्धतासमेत जनाएका सोसाइटीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
कुकुर–बिरालाको मासु बिक्रीमा रोक लगाउनुपर्ने अभियानको अगुवाइ गरेका सोसाइटीका निर्देशक लोला वेब्बर, व्यापारी र नगरप्रमुखबीच भएको सम्झौताले हजारौं छाउराको ज्यान जोगिने तथा कुकुर–बिरालाको चोरी तस्करी पनि नियन्त्रण हुने बताए ।
उक्त टापुमा बर्सेनि एक लाख ३० हजार कुकर मासुका लागि मारिने गरेका थिए । पशुलाई नमरुञ्जेल कुट्ने, झन्ड्याउने, जिउँदै आगोलगाउनेजस्ता क्रुर एवं अमानवीय व्यवहारका कारण सुलावेसीको पशुबजार अति आलोचित छ ।
सन् २०२० मा चिनियाँ सहर वुहानबाट कोरोना भाइरस यस्तै मासुबजारबाट मानवमा सरेको भन्ने जानकारी गराएपछि मासु व्यापारी सहमत भएका बताइएको छ ।
यसबाट रेबिजको सङ्क्रमण रोक्न पनि मद्दत पुग्ने वास्तविकताबारे उनीहरूलाई अवगत गराइएको थियो ।
कुकुर–बिरालाको मासु बेच्न नपाइने सरकारी आदेशपछि मानव उपभोगका खातिर हजारौं पशुले चरम यातना खपेर अब मर्नुनपर्ने भएको उल्लेख गर्दै सोसाइटीले यस निर्णयलाई ऐतिहासिक कदम भनेका छन् ।
तोमोहनमा २५ वर्षदेखि कुकुर–बिरालाको मासु बेच्दै आएका एक व्यापारी उचित समयमा व्यापार बन्दको निर्णय भएको बताउँछन् ।
हजारौं कुकुर मारेका त्यस व्यापारीलाई तिनलाई मार्न जाँदा तिनका आखाँमा आफूले त्रास देखेको र त्यसबाट आफूलाई पनि नमज्जा लाग्ने गरेको बताएका छन् ।
बिक्रीमाथिको प्रतिबन्ध पशु र जनसाधारणको रक्षाका निम्ति अति उत्तम भएको बताएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय