माधवनारायण मन्दिरमा ढोका राखियो
SamacharDesk – बिराज | २०७८ पौष २८, बुधबार

साँखुमा शादीनदी परिसरमा निर्माणाधीन माधवनारायणको मन्दिरमा आज ढोका राखिएको छ । मन्दिर निर्माणको क्रममा आज वैदीक विधि अनुसार पूजा सम्पन्न गरी मन्दिर प्रवेश गर्ने मूल ढोका राखिएको हो ।
अहिले मन्दिरको भुईँ तल्ला निर्माण हुँदैछ । मन्दिर तीन तल्ले प्यागोडा शैलीको बन्ने बताइएको छ ।
माधवनारायण व्रत मेला पनि नजिकिँदै गरेको अवस्थामा सम्भवतः भोलि विहिबारबाट मेला अवधिभरीको लागि मन्दिर निर्माण कार्य रोकिने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मिजेन्द्र काजी श्रेष्ठले बताउनुभयो ।
समितिको पहलमा गत आश्विन १४ गतेबाट मन्दिरको निर्माण कार्य शुरु भएको थियो ।
करीब ४ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा शंखरापुर नगरपालिकाले २५ लाख, शंखरापुर नगरपालिका वडा बाट ५ लाख र कागेश्वरी मनहरा नगरपालिकाबाट ५० लाख रुपैयाँ आर्थिक सहयोग भएको समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
त्यस्तै मन्दिर निर्माणकै लागि भनी गत वर्ष करीब ३३ लाख रुपैयाँ चन्दा संकलन भएको र शिलान्यास पछि आजसम्ममा करीब २५ लाख रुपैयाँ सहयोग संकलन भएको श्रेष्ठले जानकारी दिनुभयो ।
आगामी वर्षको माघ महिनासम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
Categorized in संस्कृति