arin enterprises

डा. वानीरा गिरीको निधन

SamacharDesk – बिजयरत्न | २०७८ जेठ १०, सोमबार

नेपाली साहित्यका विश्व नारीरत्न डा.वानीरा गिरीको निधन भएको छ ।

आइतबार राति १० बजे  काठमाडौँ बानेश्वरको सिभिल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएको आधा घन्टामा नै उनको निधन भएको थियो ।

कोभिड १९ संक्रमणका कारण उनको निधन भएको वानीरा फाउन्डेशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।

लामो समयदेखि मधुमेहको शिकार उनी विगत पाँच वर्षदेखि अल्जाइमर रोगबाटसमेत पिडीत थिइन् । विगत तीन वर्षदेखि उनी अर्धचेत अवस्थामा दिनचर्या धानिरहेकी थिइन् ।

डा.गिरीलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा त्रिमूर्ति निकेतनको आयोजनामा रथारोहण गराइएको थियो । सोही अवसरमा प्रधानमन्त्री कोइरालाबाट डा.गिरीलाई पाँच लाख रुपैयाँ राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’ को उपाधिद्वारा सम्मानित गरिएको थियो ।

सो अवसरमा डा. गिरीलाई उनकै उचाईको ताम्रपत्रसमेत प्रदान गरिएको थियो ।

डा.गिरीको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उनको न्वारानको नाउँ सत्यदेवी थियो ।

२०२२ सालमा प्रदत्त छात्रवृत्तिमा एम.ए. पढ्न उनी काठमाडौँ आएकी थिइन् । २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेसामा आवद्ध उनले त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक भएपछि एम.एड. पनि उतीर्ण गरेकी थिइन् ।

उनले २०४२ सालमा पीएचडी गरिन् । नेपाली भाषासाहित्यमा पीएचडी गर्ने उनी प्रथम विश्व नारी प्राज्ञ हुन् ।

डा.गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् । उनका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । नरेन्द्रराज प्रसाईद्वारा डा.वानीरा गिरीको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरी’ (२०७०) प्रकाशित भएको छ भने सो कृतिको अङ्ग्रेजी भाषामा (२०७८) दुर्गा वनवासी शिवाकोटीबाट अनुवाद भएको छ ।

डा.गिरीको विवाह २०२३ सालमा जनकपुरका इन्जिनियर शङ्कर गिरीसँग भएको थियो । यी दम्पतिका एक छोरी र एक छोरा छन् ।

डा.वानीरा गिरी विश्व नारी नेपाली साहित्य रत्नको उपाधिका साथै प्रबल गोरखादक्षिणबाहू, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री स्वर्ण पदक, सैनध्वज नन्दकुमारी पुरस्कार, नेपाल राजकीय प्रज्ञापदक, विश्वनारी नेपाली साहित्य पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भानुभक्त पुरस्कार, महाकवि देवकोटा पुरस्कार, नेपाली कलासाहित्य डटकम पुरस्कार आदिबाट सम्मानित भएकी थिइन् । 

Categorized in समाज