डा. अनोजा गुरुमाँको पार्थिव शरीर अस्पताललाई दान
SamacharDesk – Ram Dangol | २०८० जेठ ६, शनिबार

हड्डी क्यान्सरको उपचारका क्रममा बुधवार विहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा देहावसान हुनु भएका अनागारिका डा. अनोजा गुरुमाँको हिजो शवयात्रा गरिएको छ ।
६९ वर्षको उमेरमा देहवसान हुनु भएका गुरुमाँ नेपालको बौद्ध इतिहासमा पहिलो पटक मरणोपरान्त पार्थिव शरीर दान गर्ने व्यक्ति हुनुभएको छ । उहाँको पार्थिव शरीरलाई हिजो धुलिखेल अस्पताललाई हस्तान्तरण गरिएको हो ।
मरणोपरान्त आफनो अनित्य भौतिक शरीर दान दिने उहाँको इच्छा बमोजिम शुक्रबार सुलक्षणकीर्ति विहार, चोभारमा उहाँका परिवारका सदस्यहरुले सो अस्पताललाई शव हस्तान्तरण गर्नुभएको हो ।
यसअघि उहाँलाई बौद्ध परम्परा अनुसार परित्राण पाठ सहित नेपाल सरकारका तर्फबाट राष्ट्रिय सम्मान प्रदान गरिएको थियो । विद्यावारिधि उपाधि हासिल गर्ने उहाँ नेपालको पहिलो अनागारिका हुनुहुन्छ ।
उहाँले सन् १९९९ मा भारतस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट ‘अभिधम्मवतपुरन्तिक’ सम्बन्धमा विद्यावारिधि गर्नु भएको थियो ।
बुद्ध ज्योति अन्तराष्ट्रिय संघ, नेपाल शाखाका संस्थापक अध्यक्ष र सुलक्षणकीर्ति विहार, चोभारका संस्थापक प्रमुख रहनु भएकी गुरुमाँले बर्मा र भारतबाट अभिधम्म र बौद्ध उच्च शिक्षा प्राप्त गर्नु भएको थियो ।
नेपालमा बुद्ध शासन चीरस्थायी बनाउन, महिला शिक्षा तथा सशक्तिकरण र समाजसेवामा उहाँको अतुलनीय योगदान रहेको छ । गृहस्थ नाम शारदा मानन्धर भएकी गुरुमाँ २०२७ साल मंसिर १ गते बनारसमा थेरबाद बौद्ध परम्परा अनुसार प्रव्रजित भएर अनोजा नाममा बौद्ध शासनमा सर्मपित हुनुभएको थियो ।
हरिनारायण मानन्धर र रत्नमाया मानन्धरको माहिली छोरीको रुपमा बनेपामा उहाँको जन्म भएको थियो। उहाँका दजनौ पुस्तक प्रकाशित छन् भने उहाँले करिव ३६ देशको भ्रमण गर्नुभएको छ ।
