arin enterprises

तनहुँ १ मा डा. स्वर्णिम वाग्ले भारी मतले विजयी

SamacharDesk | २०८० बैशाख १२, मंगलबार

तनहुँ क्षेत्र नम्बर १ मा आज बिहान सम्पन्न मतगणनामा डा. वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभयो  । नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गर्नु भएको छ ।

निर्वाचन आयोगले आजै विहान उपनिर्वाचन निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

रास्वपाका उम्मेदवार वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले मङ्गलबार बिहान एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

सो अवसरमा नव निर्वाचित प्रतिनिधिसभा सदस्य वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् । उनले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् ।

आफूले तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउने उनले बताए । सांसद वाग्लेले आफूले तनहुँले गर्व गर्न लायक काम गर्ने प्रतिबद्धता पनि जनाए ।

तनहुँ १ मा सम्पन्न निर्वाचनमा राप्रपाको शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल अर्गनाईजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गर्नु भएको थियो ।

निर्वाचनमा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो भने एक हजार १८१ मत बदर भएको थियो । २०७९ को मङ्सिर ४ मा भएको निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले विजयी हुनुभएको थियो ।

काँग्रेसका तत्कालीन वरिष्ठ नेता राष्ट्रपति बनेपछि वैशाख १० गते उपनिर्वाचन भएको थियो ।

Categorized in राजनीति