arin enterprises

फोहोर फ्याँक्न अवरोध

SamacharDesk | २०८० श्रावण १, सोमबार

गत बुधबार ककनी गाउँपालिकाले बञ्चरेडाँडामा फोहोर फ्याँक्न शुल्क लिने निर्णय गरेपछि आजदेखि विना शुल्क फोहोर फाल्न अवरोध गरेका छन् ।

उनीहरुले काठमाडौंबाट फोहोर फ्याँकन गएका गाडीहरुलाई पटके रुपमा शुल्क उठाउने निर्णय गरेको हो ।

सरकारले सहमति कार्यान्वनय र फोहोरको उचित व्यवस्थापनमा चासो नदिएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा आजदेखि फोहोर फाल्न अवरोध गरेका हुन् । ल्याण्डफिल साइटमा रहेको मानव वस्ती अन्यत्र सार्नुपर्ने प्रमुख मागमा सरकारले बेवास्ता गरेको आरोप स्थानीयको छ ।

ककनी गाउँपालिकाका वडा नम्बर ३ र ५ तथा धुनीबेंसी नगरपालिकाको वडा नम्बर १ का वासिन्दाले आज विहानै फोहोर लिएर गएका गाडीलाई सीमामै अवरोध गरेका हुन् ।

उनीहरु सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । स्थानीय जनप्रतिनिधिहरु पनि सडकमा उत्रिएका छन् । स्थानीयहरुले फोहोरका गाडी रोकेपछि त्यस क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । शहरी विकास मन्त्रालयले स्थानीयको समस्या समाधानमा चासो नदिएको आरोप पनि उनीहरुले लगाएका छन् ।

गाउँपालिकाले ठूला गाडीलाई १५ सय र साना गाडीलाई १ हजार रुपैयाँ शुल्क लिने ककनीको निर्णय विरुद्ध काठमाडौं उपत्यका फोहोर ब्यवस्थापन संघले सर्वोच्चमा मुद्धा हालेपछि उनीहरुले आन्दोलनको सहारा लिएको अनुमान गरिएको छ ।

ककनी गाउँपालिकाको निर्णय विरुद्धको रीटमा सर्वोच्चमा आज पेशी तोकिएको छ ।

Categorized in राष्ट्रिय