arin enterprises

नक्कली मदिरासहित ९ जना पक्राउ

SamacharDesk | २०८० माघ ४, बिहिबार

नक्कली मदिरा उत्पादन र बिक्री गरेको आरोपमा नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नौ जनालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप खाँडादेवी गाउँपालिकाका मनोज खत्री, मनिष खत्री, महेश खत्री र विनोद कुमार कार्की, सिधुपाल्चोकको चौतारा गाउँपालिकाका मोहन खड्का र रोशन कार्की, सिन्धुलीको कमलामाइ नगरपालिकाका गौरब तामाङ्ग र लेखबिक्रम थापा तथा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ का सुमन नगरकोटी रहेका छन् ।

उनीहरुको साथबाट नक्कली मदिराको बिक्री वितरणमा प्रयोग हुने गरेको आन्तरिक राजश्व विभागको नक्कली अन्तःशुल्क स्टिकर लगायत विभिन्न ब्राण्डका १३ सय ६२ बोतल नक्कली मदिरा बरामद गरिएको छ ।

उनीहरुले काठमाडौको कागेश्वरी मनहरावडा नम्बर ५ स्थित भरत थापाको घरमा कोठा भाडामा लिएर स्वदेशी तथा बिदेशी ब्राण्डका नक्कली मदिरा बनाइ कालोबाजारी गर्दै आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक अनील घिमिरेले जानकारी दिनुभयो ।

बरामद गरिएका अन्य वस्तुहरुमा खुकुरी रम, गोल्डेन वेक, फाईटर, सिग्नेचर, ३६५ ब्ल्याक र मदिरा बनाउन प्रयोग गरिने विभिन्न सामानहरु, सगुन ब्राण्डको मदिरा, चिनी मिश्रित तरल पदार्थ, रक्सीका खाली बोत्तलहरु, आन्तरिक  राजश्व विभागको अन्तःशुल्क स्टिकरहरु, लेबलिङ गर्ने सामानहरु, प्याकेजिङ गर्ने सम्पूर्ण सामानहरु बरामद गरेका छन् ।

प्रहरीका अनुसार सोे गिरोहले उपत्यकाका रेष्टुराँ, पार्टी प्यालेस र होटलहरुमा नक्कली मदिरा आपूर्ति गर्दै आएको थियो ।

पक्राउ परेकाहरुलाइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौ पठाइने काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Categorized in अपराध