सार्वजनिक सवारी साधनमा फोहोरदानी अभियान संचालन हुँदै
SamacharDesk – बिराज | २०७९ श्रावण ३०, सोमबार

चन्द्रागिरी नगरपालिकाले कलंकी नागढुंगा सडक तथा सवारी साधनमा फोहोरमैला ब्यबस्थापन सम्बन्धि सचेतनामूलक अभियान तथा स्टिकर वितरण कार्यक्रम संचालन गरेको छ । आज एक कार्यक्रमका बीच अभियानको औपचारीक रुपमा सुरुवात गरिएको हो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक मीरा चौधरीलाई नगर घनश्याम गिरीले विभिन्न सचेतनामूलक स्टिकर हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरे ।
स्टीकर हस्तान्तरण गरेर लिइसकेपछि उक्त स्टीकर सार्वजनिक सवारी साधनमा टाँस्नुका साथै सवारी चालकलाई फोहोरदानीको ब्यबस्थापन गर्न गराउन निर्देशन दिइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गिरिले नगरपालिका अब शुन्य फोहोर अवधारणा अभियानमा लागेको बताउनुभयो । सोको लागि फोहोर ब्यबस्थापन गर्न विभिन्न रंगको झोला वितरण प्रक्रिया सुरु हुन लागेको पनि गिरीले जानकारी गराउनुभयो ।
सो अवसरमा सवारी साधनबाट हुने फोहोरको ब्यबस्थापनको लागि राजमार्ग र भित्री सडकमासमेत सवारी साधनमा फोहोरदानीको ब्यबस्थापन गर्ने गराउने अभियान शुरु भएको पनि उनले बताए ।
कार्यक्रममा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखुहरुका साथै फोहोरमैला ब्यबस्थापन गर्ने संस्थाहरु तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाल सेनाका प्रतिनिधिज्युहरुको पनि उपस्थिति रहेको थियो ।
Categorized in स्थानीय