निर्वाचन अनुगमनका लागि छिमेकी मुलुकका आयुक्तहरु नेपाल आउने
SamacharDesk | २०७९ कार्तिक २१, सोमबार

आगामी ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनुगमन गर्न भारत, बंगलादेश, भुटान र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त आउने भएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रमुख निर्वाचन आयुक्तहरू भारतका राजीव कुमार, भुटानका सोनाम तोब्गे, बंगलादेशका काजी हबिबुल अवाल र माल्दिभ्सका फुवाद थोफिक आउने भएको छ ।
श्रीलंका र दक्षिण कोरियाबाट भने निर्वाचन आयुक्तको प्रतिनिधित्व हुनेछ । उनीहरूलाई काठमाडौं उपत्यकाका मतदान स्थल अवलोकन गराउने तयारी रहेको आयोगले जानकारी दिनुभयो ।
निर्वाचन अवलोकन गर्न नेपालस्थित कूटनीतिक नियोग, विकास साझेदार संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्वाचन व्यवस्थापनको क्षेत्रमा ख्याति प्राप्त अनुभवी व्यक्ति र संस्थालाई आयोगले आमन्त्रण गरिसकेको छ ।
आमन्त्रण गरिएका व्यक्तिलाई आयोगले निर्वाचन अवलोकनकर्ताको परिचयपत्र उपलब्ध गराउनेछ । अवलोकनकर्ताकासाथ परराष्ट्रका सम्पर्क अधिकृत खटिनेछन् । निर्वाचन आयोगले राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि आह्वान गरेको थियो ।
यसमा ४ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाले अनुमति पाएका छन् । चार अन्तर्राष्ट्रिय संस्थाका पर्यवेक्षक बढीमा २५ जना हुने आयोगले जनाएको छ ।
Categorized in राष्ट्रिय