अब जिब्रोको मद्दतले विद्युतीय उपकरणहरु प्रयोग गर्नसक्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ३, बुधबार

आफ्नो जिब्रो प्रयोग गरी विद्युतीय उपकरण नियन्त्रण तथा प्रयोग गर्नसक्ने भएको छ ।
अमेरिकी कम्पनी ‘अगमेन्टल’ ले शारीरिक रूपमा अशक्त तथा अपांग व्यक्तिहरुलाई लक्षित गर्दै नयाँ प्रविधि विकास गरेको हो ।
'माउथप्याड’ नामक यो प्रविधिलाई जिब्रोको मद्दतले विद्युतीय उपकरण प्रयोग गर्न सकिने छ ।
एप्पल सिरी, एलेक्जा, कोटानाजस्ता भोइस कन्ट्रोल टेक्नोलोजी प्रयोग गर्नुभन्दा माउथप्याड धेरै उपयोगी हुने कम्पनीको दाबी छ ।
यो प्रविधिले मुखले नियन्त्रण गर्नुपर्ने जोयस्टिक जस्तो जटिल उपकरणको प्रयोग हटाउने सक्ने कम्पनीले जनाएको छ ।
विश्व स्वास्थ्य संघठनका अनुसार अहिले विश्वको कूल जनसंख्याको १६ प्रतिशत अर्थात् एक अर्ब ३ सय करोड मानिसहरु शारीरिक रूपमा अशक्त छन् ।
यस प्रविधिले ती मानिसहरूलाई ठूलो सहयोग गर्ने विश्वास गरिएको छ ।
माउथप्याड नरम, लचिलो सामग्रीबाट बनेको हुन्छ । प्लास्टिक रिटेनरजस्तै देखिने माउथप्याडलाई प्रयोगकर्ताको मुखभित्र राखिन्छ ।
यो वाटरप्रुफ पनि भएकाले खाने वा पिउने बेलामा समेत यसलाई लगाउन सकिने बताइएको छ ।
माउथप्याड आवश्यकता अनुसार परिमार्जन गरिसकिने अर्थात ‘बेस्पोक’ डिभाइस हो । जसलाई प्रयोगकर्ताको मुखको संरचनाअनुसार डिजाइन गरिन्छ । त्यसैले एउटा प्रयोगकर्ताको माउथप्याड अर्कोसँग नमिल्न सक्छ ।
यसभित्र ट्र्याकप्याड, प्रेसर सेन्सर, ब्याट्री, चार्जिङ कोइल, ब्लुटुथ चिप लगायतका उपकरणहरु हुन्छ ।
यसमा भएको ट्र्याकप्याडले प्रयोगकर्ताको डिभाइसलाई कन्ट्रोल गर्न प्रयोग गरिन्छ ।
ट्र्याकप्याडमा जिब्रोले छोएको थाहा पाउने काम प्रेसर कन्ट्रोलले गर्छ । त्यस्तै चार्जिङ कोइलले डिभाइसलाई बिना तार (वायरलेस) चार्ज गर्छ । साथै ब्लुटुथ चिपले प्रयोगकर्ताको डिभाइसहरूसँग सञ्चार गर्ने गर्छ ।
यद्यपि माउथप्याड बजारमा उपलब्ध भएको छैन ।
यस डिभाइसले अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)बाट प्रमाणीकरण पाउन बाँकी नै छ ।
हाल कम्पनीले यस डिभाइसको सुरक्षा र प्रभावकारिताको परीक्षण गर्न ट्रायल गरिरहेको छ ।
यी काम सकिए लगतै यो डिभाइस बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यस्तै अहिले डिभाइस किन्न चाहने व्यक्ति कम्पनीको वेबसाइटबाट वेटलिस्टमा बस्न सक्छन् ।
Categorized in विज्ञान-प्रविधी