arin enterprises

उपनिर्वाचनको आज मनोनय दर्ता

SamacharDesk | २०८१ मङ्सिर २, आइतबार

स्थानीय तह उपनिर्वाचनका लागि आज अपरान्हसम्म मनोनयन पत्र दर्ता हुँदैछ ।

विभिन्न कारणले रिक्त रहेको कूल ४४ जना जनप्रतिनिधिहरुका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ । निर्वाचन आयोगले आज विहान १० बजेदेखि अपराह्न ५ बजेसम्मको लागि मनोनयन दर्ता गर्न आह्वान गरेको छ ।

आज आयोगले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि मनोनय दर्ता गराउँदैछ । यसैगरी स्थानीय तहको उपनिर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागु हुने भएको छ ।

आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुनेछ । निर्वाचन आयोगको हिजो बसेको बैठकले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम उपनिर्वाचन हुने सम्बन्धित जिल्ला भित्र निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

निर्वाचन आचारसंहिता लागू भएको जिल्लाको निर्वाचन हुने स्थानीय तह बाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु गराउनु परेमा निर्वाचन आयोगलाई पूर्व जानकारी दिई निकास भए बमोजिम गर्न सकिनेछ ।

निर्वाचन आचारसंहिता सम्पूर्ण व्यक्ति, संस्था तथा अधिकारीको कानूनी दायित्व एवम् नैतिक बन्धन भएकोले यसको सम्पूर्णरुपले पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्ने कार्यमा सबैको सहयोग हुने आयोगले विश्वास लिएको छ ।

Categorized in राष्ट्रिय