ओपन एआई विरुद्ध एलन मस्कले हाले मुद्दा
SamacharDesk | २०८० फाल्गुण २०, आइतबार
एलन मस्कले च्याटजीपीटी निर्माता कम्पनी ओपन एआई र त्यसका सीईओ साम अल्टम्यान विरुद्ध मुद्दा दायर गरेका छन् ।
गैरनाफामुखी कम्पनी नाफामुखी बनेको भन्दै मस्कले बिहीबार सान फ्रान्सिस्को स्थित क्यालिफोर्निया सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।
मस्कले सुरुवाती चरणमा सह–संस्थापक ग्रेग ब्रोकम्यान र साम अल्टम्यानसँग ओपन एआई ओपन सोर्स र गैर नाफामुखी बनाउने सम्झौता भए पनि पछिल्लो समय ओपन एआई मानविय सेवामा कम र नाफामा बढी केन्द्रित भइरहेको आरोप लगाएका छन् ।
यस कम्पनीको रिसर्च र अन्य प्रविधि सार्वजनिक रूपमा उपलब्ध गराउनुपर्ने मस्कको माग छ ।
त्यस्तै कुनै व्यक्ति वा माइक्रोसफ्टले आर्थिक नाफा लिनबाट रोक्न कम्पनीलाई जीपीटी फोर र अन्य सम्पत्ति प्रयोग गर्नबाट रोक्नुपर्ने मस्कले माग राखेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार मस्कले कम्पनीप्रति लगाएका कैयौं आरोप ओपन एआईमा प्रमुख कार्यकारीहरूले अस्वीकार गर्दै आएका छन् ।
नाफाका लागि ओपन एआई एजीआई विकासमा काम गर्दा भविष्यमा विभिन्न किसिमका जोखिम निम्तीने मस्कको भनाइ छ ।
मस्क पनि पछिल्लो समय आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्सएआईमा केन्द्रित छन् ।
मस्क ओपन एआईका सह–सहसंस्थापक पनि हुन् । मस्कसहित ग्रेग ब्रोकम्यान, साम अल्टम्यान, पिटर थाइल, रेड होफम्यान जेसिका लिभिङस्टनले यो कम्पनी स्थापना गरेका थिए ।
केहि समय पछि एलन मस्कसहित अन्य सह–संस्थापकहरु प्रत्यक्ष भूमिकाबाट बाहिरिएर आर्थिक रुपमा सहयोग गर्दै आएका थिए ।
Categorized in विज्ञान-प्रविधी