arin enterprises

राष्ट्रपतिबाट मातृभाषा पत्रकारिताको विकासमा जोड

SamacharDesk – बिराज | २०८१ भाद्र २, आइतबार

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको सबै जातजाति, भाषाभाषी र संस्कृतिको उत्थान र विकास हुनेगरी सञ्चार माध्यममा समाचार आउनुपर्ने बताएका छन् ।

नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारी र पत्रकारसँग राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सञ्चारमाध्यम पनि समावेशी हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले विविध भाषाभाषी, संस्कृति र समुदायको विकास र अधिकारको उपभोगले राष्ट्रिय एकता बलियो हुने धारणा राखे ।

राष्ट्रपति पौडेलले पत्रकारिताको समावेशीकरण, नेपालमा मातृभाषा पत्रकारिताको विकासका लागि आफ्नो पूर्ण सहयोग र समर्थन रहने बताए ।

पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुनील महर्जन लगायतले सञ्चारमाध्यमको समावेशीकरण र मातृभाषाको पत्रकारिताको विकासका लागि राष्ट्रपति समक्ष आग्रह गरेका थिए ।

संचार सम्वद्ध संघसंस्था समावेशी बनाउन पहल गर्ने संचारमन्त्री गुरूङकाे प्रतिवद्धता

आजै पत्रकार दबूले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पनि ज्ञापन पत्र बुझाएका छन् । दबूले आज सूचना तथा संचार प्रविधि मन्त्री गुरुङलाई आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

दबूले संचारमन्त्री गुरुङलाई ज्ञापन पत्र बुझाउँदै सञ्चार सम्बद्ध संघसंस्थाको संरचना समावेशी चरित्रको बनाउन माग गरेको छ ।

प्रेस काउन्सिल, सूचना विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समितिसहित सरकारी सञ्चार माध्यमको नेतृत्वमा समानुपातिक सहभागिताका आधारमा समावेशी बनाउन दबूले माग गरेको हो ।

दबूको ज्ञापन पत्र बुझ्दै मन्त्री गुरुङले नेपाली सञ्चार माध्यम र सञ्चार सम्बद्ध संघसंस्थालाई समावेशी चरित्रको बनाउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघसंस्था समावेशी चरित्रको बन्न नसक्दा सबै समुदायको आवाजको प्रतिनिधित्व हुन नसकेको स्वीकार्दै गुरुङले त्यसका लागि आफूले पहल गर्ने विश्वास दिलाए ।

सरकारले लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउँदा मातृभाषामा पनि सन्देश प्रवाह गर्न दबूले मन्त्री गुरुङको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै, सञ्चार मन्त्रालयको तर्फबाट पत्रकार सम्बद्ध संघ संस्थालाई उपलब्ध गराइने अनुदानमा जातीय पत्रकार संघलाई पनि समेट्न दबूले माग गरेको छ ।

सो अवसरमा दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको नाममा हुलाक टिकट प्रकाशन गर्न माग गरे ।

वि.सं. १९८२ सालमा पहिलो पटक वैद्यले नेपालभाषामा ‘बुद्ध धर्म’ पत्रिका प्रकाशन गरेर मातृभाषा माध्यमबाट पत्रकारिताको सुरुवात गरेको इतिहास रहेको छ ।

सो अवसरमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष अमरध्वज लामा, दबूमा आवद्ध पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।

नेपाल भाषाको पत्रकारिता शुरु भएको एक सय वर्ष पुगेको सन्दर्भमा पत्रकार दबूले विविध कार्यक्रम आयोजना गरी मातृभाषा पत्रकारिता शताब्दी महोत्सव मनाइरहेको छ ।

Categorized in राष्ट्रिय