arin enterprises

पर्यटन उद्योग उकास्न स्थानीयताको प्रवर्ध्दनमा जोड

SamacharDesk – बिशाल राजभण्डारी | २०७९ श्रावण ९, सोमबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन उद्योग उकास्न स्थानीयतालाई जोड दिनुपर्ने बताउनुभएको छ ।

पर्यटकहरु हिमालमात्र हेरेर फर्कीरहेको अवस्थामा तिनीहरुको नेपाल बसाइ लम्ब्याउन सकिए पर्यटन उद्योग फस्टाउने विचार मन्त्री श्रेष्ठले राख्नुभयो ।

‘अबको पर्यटन उद्योगमा जनतादेखि सरकारको सहभागिता हुनुपर्छ । जनताको सक्रियता बिना पर्यटन क्षेत्रले गति पाउन सकिंदैन’ मन्त्री श्रेष्ठ भन्नुभयो ।

त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागमा शुक्रबार आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले नयाँ पुस्ताले महत्व नबुझ्दा दैनिक रुपमा यहाँको संस्कृति परम्परा हराउँदै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उच्च शिक्षामा यस्ता विषयवस्तुको खोजमूलक अनुसन्धान र पठनपाठनको आवश्यकतामा श्रेष्ठले जोड दिए ।

‘विभागभित्र तयार भएको जाति, भाषा, धर्म, संस्कृति, इतिहास, परम्परा विषयक खोजमूलक सामग्रीहरु पर्यटकहरुलाई आकर्षित गर्ने विषयवस्तु हुन् र ती सामग्री नेपालको सम्पत्ति भएकोले त्यसलाई दराजभित्र सीमित नगरी प्रकाशित गर्नुपर्छ’ श्रेष्ठले भने ।

कार्यक्रममा श्रेष्ठले ३७ वर्ष अघि स्थापित भएको वैकुण्ठ लाकौल पुरस्कार प्रा.डा.त्रिरत्न मानन्धर र काशीनाथ तमोटलाई प्रदान गर्नुभयो ।

पुरस्कृत व्यक्तित्व प्रा.डा.त्रिरत्न मानन्धरले अत्यन्त प्रतिष्ठित व्यक्तित्वहरुलाईमात्र उपलव्ध गराउँदै आएको स्व.वैकुण्ठ प्रसाद लाकौलबाट स्थापित वैकुण्ठ लाकौल पुरस्कार आफूलाई प्रदान गरेकोमा गौरव महसूस भएको बताउनुभयो ।

‘पुरस्कार ग्रहण गरें, यसको उचाईलाई कायम राखी राख्नका लागि मलाई चुनौती भइरहेको छ’ मानन्धरले भने ।

उहाँले नेपालभाषाका कवि शिरोमणि वैकुण्ठ लाकौलले साहित्य क्षेत्रमा मात्र योगदान गरेको नभइ शिक्षामा पनि ठूलो लगानी रहेको बताउनुभयो ।

स्व. लाकौलले नेपालभाषा केन्द्रीय विभागको भवन निर्माण गर्नुका साथै छात्राहरुलाई शैक्षिक रुपमा उकास्नका लागि विभिन्न पुरस्कारहरु स्थापना गरेको जानकारी उहाँले दिनुभयो ।

कार्यक्रममा अर्का पुरस्कृत व्यक्तित्व काशीनाथ तमोटका साथमा नेपालभाषा केन्द्रीय विभागका प्रमुख डा. राजनलाल जोशी, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, पुरस्कारका दाता श्रीकण्ठ लाकौल, डा. सुन्दरकृष्ण जोशीले पनि आआफ्ना विचार राखेका थिए ।

सोही कार्यक्रममा नेपालभाषामा स्नातकोत्तर गर्ने छात्राहरुलाई नगद पुरस्कारसहित चैन लाकौल, तारा लाकौल र रजनी लाकौल पुरस्कार पनि वितरण गरिएको थियो ।

Categorized in समाज