arin enterprises

लोपोन्मुख नौ बाजा सम्मेलन सम्पन्न

SamacharDesk – के.के. मानन्धर | २०८० चैत्र ११, आइतबार

देशभरका मानन्धरहरुको साझा संगठन केन्द्रीय मानन्धर संघले लोपोन्मुख बाजा संरक्षण अभियान सुरु गरेको जनाएको छ ।

अमूर्त सम्पदाको रुपमा रहेको मौलिक लोपोन्मुख बाजालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले संघले अभियान सुरु गरेको बताएको हो ।

संघले मध्यपुर थिमिको क्वलाखु क्षेत्रमा आयोजना गरेको लोपोन्मुख नौ बाजा सम्मेलन ११४४ मा यस्तो बताएको हो ।

संघ अन्तर्गत युवा उपसमिति र सञ्चार उपसमितिको संयोजनमा मध्यपुर थिमिस्थित सिवा सायमि खलः र मानन्धर युवा समुहसँग समन्वय गरी सम्पन्न भएको कार्यक्रमलाई मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए ।

कार्यक्रममा भक्तपुरको साःक्वलान, गोलमढी र तेखाच्व टोल, बनेपाको वांख्यः, क्वसाः दाफा भजन खलः र मध्यपुर थिमिको सिवाः सायमि खलःले नौ बाजा प्रदर्शन गरेकाे थियाे ।

९ किसिमका मौलिक बाजाका प्रकारलाई नौबाजा भनिने र सोही बाजा समूहमा सहायक बाजा सम्मलित गराइने कार्यक्रम संयोजक गजेन्द्र प्रसाद मानन्धरले बताए ।

विशेषगरी यो बाजा काठमाडौं उपत्यका र काभ्रेमा मात्र संरक्षित देखिन्छ । नौ बाजाले गौतम बुद्धको समयमा कपिलबस्तुमा राजकीय बाजाको मान्यता पाएको विश्वास गरिन्छ ।

श्रृंगभेरी अपदानको कथा र स्वयम्भू पुराणमा उल्लेख भएको नौ बाजा पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेकोले संघले यसको संरक्षणलाई अभियानको रुपमा थालनी गरेको कार्यक्रमका सांस्कृतिक पक्षका संयोजक सुरेन्द्र मानन्धरले भने ।

‘कार्यक्रममार्फत संघले पहिलोपल्ट नेकू, पस्ताः, धाः, चति, डबडब, नगरा, खिं, पच्छिमा, प्वङा, ताः, भुस्या, छुस्या, पस्ता, नायखिं, धिमेचा, बे लगायतका बाजालाई पृथक ताल र बोलमा प्रदर्शन गर्ने वातावरण तयार गरेको हो’ मानन्धरले बताए । ।

संघले काठमाडौं महानगरपालिकासँगको साझेदारीमा कार्यक्रम सम्पन्न गरेको हो ।

Categorized in संस्कृति