समूह ‘डी’ बाट इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक अन्तिम १६ मा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ९, बुधबार

युरोकप २०२० मा इंग्ल्यान्ड , क्रोएसिया र चेक रिपब्लिक अन्तिम १६ मा पुगेका छन् ।
वेम्बली स्टेडियममा मंगलबार राति समूह ‘डी’ अन्तर्गतको खेलमा इंग्ल्यान्डले चेकलाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
चेकविरुद्ध इंग्ल्यान्डलाई जित दिलाउने क्रममा रहिम स्टर्लिङले १२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
यस्तै मंगलबार राति नै भएको यहि समूहको अर्को खेलमा स्कटल्यान्डलाई पराजित गर्दै क्रोएसिया पनि युरो २०२० अन्तिम १६ मा पुगेको छ ।
ह्याम्पडेन पार्कमा भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ३–१ ले हराउँदै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो ।
घरेलु टिम स्कटल्यान्डविरुद्ध क्रोएसियाका भ्लासिकले खेलको १७ औं मिनेटमा पहिलो गोल गरे । तर, ४२ औं मिनेटमा स्कटल्यान्डका म्याकग्रेगोरले बराबरी गोल फर्काउन सफल भए ।
६२औं मिनेटमा लुका मोड्रिकले र ७७औं मिनेटमा पेरिसिकले गोल गरेपछि क्रोएसिया ३–१ले विजयी भयो ।
समूह ‘डी’ मा इंग्ल्यान्डले ३ खेलबाट ७ अंक जोड्दै समूह विजेताको रूपमा र समान खेलमा ४ अंक जोड्दै समूह उपविजेताको रूपमा क्रोएसिया पनि अन्तिम १६ मा पुग्यो ।
यस्तै ३ खेलमा ४ अंकले चेक रिपब्लिक पनि उत्कृष्ट तेस्रो टिमको रूपमा अन्तिम १६ मा पुगेको छ । स्कटल्यान्ड भने १ अंक जोड्दै बाहिरियो।
Categorized in स्पाेर्ट्स