दक्षिणकालीमा स्थानीय सेवा केन्द्र स्थापना
SamacharDesk – बिराज | २०७९ पौष ८, शुक्रबार

दक्षिणकाली नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोबासीको समस्या समाधानको लागि भनेर पालिका स्तरीय स्थानीय सेवा केन्द्र स्थापना गरिएको छ ।
विहिबार एक कार्यक्रमका बीच दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत र राष्ट्रिय भुमी आयोग काठमाडौ जिल्लाका अध्यक्ष श्याम कृष्ण प्रजापतिले संयुक्त रुपमा केन्द्रको उद्घाटन गरे ।
सो अवसरमा बोल्दै आयोग काठमाडौं समितिका अध्यक्ष प्रजापतिले सेवा केन्द्र स्थापना भएकोमा नगरपालिकालाई बधाई दिँदै काम गर्ने क्रममा कोहि पनि भुमिहिन नछुटोस र एक जना पनि गलत ब्यक्ति नपरोस् भनेर सजग गराए ।
‘सच्चा भूमिहीन कोही पनि छुट्नुभएन र एक जना पनि गलत व्यक्तिको हातमा राष्ट्र र यो दक्षिणकाली नगरको जग्गा नपरोस भन्नेमा सजग रहौं । गलत विवरण दिँदा वा गलत सिफारिस गर्दा कानुनी कारवाहिको भागिदार हुनुपर्ने कुरा कसैले पनि नबिर्सौं’ प्रजापतिले भने ।
अब केही दिनमै केन्द्रबाट भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनको साथमा छानबीन अनि प्रमाणीकरण लगायतको काम अगाडि बढाउन सार्वजनिक सुचना प्रकाशन हुने प्रजापतिले जानकारी गराए ।
नगर प्रमुख बस्नेतले नगरको भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न आवश्यक काम अगाडि बढाउने बताए ।
कोहि पनि सुकुम्बासी भएर रहनुपर्नेे अवस्थाबाट मुक्त गर्नका लागि आयोगसँग आवश्यक सहकार्य गरि छिटो भन्दा छिटो काम सम्पन्न गर्ने प्रतिबद्धता पनि बस्नेतले व्यक्त गरे ।
केन्द्रको स्थापना लगत्तै लगत संकलन, छानबिन, पहिचान, प्रबिष्टी अनि जग्गाको नापजाँच लगायतको काम अगाडी बढाउन अभिमुखिकरण कार्यक्रमसमेत सम्पन्न भएको छ ।
सुकुम्वासी समस्याको समाधानको लागि भनेर गत पुस ४ गते मात्रै आयोग र नगरपालिकाबीच सम्झौता भएको थियो ।
Categorized in समाज