काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ पौष २२, बुधबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएसँगै काठमाडौँलाई हिलो धुलोमुक्त बनाउने अभियानले मुर्तरुप प्राप्त गर्ने बताउनु भएको छ ।
काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गर्दै शाक्यले यस सम्झौताले मेलम्ची र काठमाडौँबासीको सम्बन्ध थप प्रगाढ हुने बताउनुभयो । समझदारी–पत्रमा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले हस्ताक्षर गर्नुभयो ।
स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा, मानवीय नगर बनाउन सहकार्य गर्न, आपसी हितका लागि अध्ययन तथा अवलोकन गर्नलगायतमा पनि यो सम्बन्धले सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो ।
शाक्यले यस्ता सम्बन्धले स्थानीय सरकारलाई नेपालको संविधान, संघीय, प्रदेश तथा अन्य प्रचलित ऐन कानुनद्वारा तोकिएका काम, कर्तव्य, अधिकार तथा दायित्व वहन गर्न आपसमा विचारविमर्श तथा अन्तरक्रिया गरी दिशावोध गर्न सहयोग पुग्ने पनि बताउनुभयो ।
‘मूर्त तथा अमूर्त संस्कृति, सम्पदा र पर्यटनलाई स्थानीय सरकारको समृद्धिको आधार मान्दै जिवन्त संस्कृति, सम्पदा र पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास र प्रचार प्रसारमा सहकार्य गर्नेछौं’ शाक्यले भन्नुभयो ।
भगिनी सम्बन्ध स्थापनासँगै जनप्रतिनिधि, कर्मचारी तथा नगरवासीहरुमा रहेको ज्ञान, शीप तथा अनुभवको आदानप्रदान गर्न अध्ययन तथा अवलोकन भ्रमण, अन्तरक्रिया, गोष्ठि जस्ता कार्यक्रमहरु सहकार्यमा संचालन गर्ने लक्ष्य महानगरपालिकाले लिएको छ ।
भगिनी सम्बन्ध स्थापना लगत्तै काठमाडौँ महानगरपालिकाले आ.व.२०७७/०७८ को स्वीकृत बजेट अन्तर्गत नगर नगर साझेदारी कार्यक्रम कार्यान्वयन गर्न मेलम्ची नगरपालिकासँगको सहकार्यमा पर्यटकीय स्थलका रुपमा विकास गर्न मेलम्ची सिटी पार्क निर्माण गर्न पनि सम्झौता गरेको छ ।
महानगरपालिकाले समझदारीपछि मेलम्ची नगरपालिका वडा नं.१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि रु. १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर भयो ।
सो अवसरमा मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले काठमाडौँबासीले मेलम्चीको पानी जति सक्दो छिटो पिउन पाउन भन्नेमै आफुहरु रहेको बताउनुभयो । मेलम्चीबासीका पनि केही माग रहेको र सरोकारवाला निकायसँग छलफल भैरहेको भन्दै त्यसमा सहजीकरण गर्न महानगरपालिकासँग अर्यालले आग्रह गर्नुभयो ।
उहाँले जर्सिङ पौवाको बाटो स्तरोन्नतीपछि मेलम्ची र काठमाडौँको दूरी अझ कम हुने भएकाले पर्यटकीय गन्तव्यका रुपमा पनि दुई नगरलाई जोड्न सकिने बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले ५२ औँ कार्यपालिका बैठकको निर्णय अनुसार विभिन्न नगरसँग भगिनी सम्बन्न स्थापनाको प्रक्रिया अघि बढाएको बताउनुभयो ।
Categorized in स्थानीय