पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश बने इथियोपिया
SamacharDesk | २०८० फाल्गुण ४, शुक्रबार

इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश बनेको छ । इथियोपियाको यातायात मन्त्रालयले आफ्नो देश आर्थिक संकटमा फसेकोले विदेशी मुद्रा सीमित गर्न र हरित ऊर्जा प्रवर्द्धन गर्नको लागि पेट्रोलियम गाडीलाई देशमा नभित्र्याउने निर्णय गरेको हो ।
इथियोपियाका यातायात मन्त्री अलेमु साइमले संसद्मा सहरी विकास तथा यातायात स्थायी समितिको प्रतिवेदन सार्वजनिक गरेका गर्दै अब देशमा हरित यातायातलाई कार्यान्वयन गर्ने काममा संलग्न हुने योजना भएको बताएका छन् ।
त्यस्तै इथियोपिया सरकारले देशभर विद्युतीय सवारी प्रवर्द्धन गर्न चार्जिङ स्टेसन थप्ने काम गरिरहेको छ । सरकारको पछिल्लो निर्णयले देशमा हाइड्रोइलेक्ट्रिसिटी पावर प्लान्टका लागि ऊर्जा पूर्वाधारमा लगानी भित्र्याउन र हरित ऊर्जा प्रवर्द्धनमा टेवा पुग्ने अनुमान गरिएको छ ।
इथियोपिया अफ्रिकाको सबैभन्दा ठूलो हाइड्रो–इलेक्ट्रिक पावर प्लान्ट निर्माण गर्ने देश पनि हो । ग्रान्ड इथोपियन रेनएसेन्स ड्याम (जीईआरडी) पावर प्लान्टको पनि उद्धाटन छिट्टै हुने बताइएको छ ।
पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने कारमा प्रतिबन्ध लाग्दा विद्युतीय सवारी साधनको प्रवर्द्धन हुने भएपनि इथियोपियाका नागरिकलाई यी सवारी खरिद गर्न आर्थिक रूपमा चुनौतीपूर्ण हुने विश्लेषण गरिएको छ ।
पछिल्लो समय विश्वव्यापी रुपमा विद्युतीय सवारी साधनको मूल्य बढ्दै गइरहेको छ । यस्तो अवस्थामा इथियोपियाका अधिकांश नागरिकमा ती सवारी साधन खरिद गर्नसक्ने अवस्था नभएको बताइएको छ ।
यो नीति नयाँमा गाडि खरिद गर्दा मात्र लागु हुन्छ वा सेकेन्ड ह्यान्ड किन्दा पनि लागु हुन्छ भन्ने विषयमा भने स्पष्ट छैन ।
इथियोपियामा यो नीति पूर्ण रुपमा कहिलेदेखि कार्यान्वयनमा आउँछ भन्ने पनि खुलाइएको छैन ।
विद्यतीय सवारी साधनको उद्योगको क्षेत्रमा हरित ऊर्जा प्रवर्द्धन गर्ने इथियोपियाको यो निर्णयलाई कोशेढुङ्गाको रूपमा हेरिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय