निःशुल्क स्वास्थ्य शिविरमा यस पटक आँखा जाँच हुँदै
SamacharDesk – बिराज | २०८० फाल्गुण २३, बुधबार

ललितपुर महानगरपालिका (लमपा) १६ वडा कार्यालय र अरनिको समाजबाट संयुक्त रुपमा आयोजना भइरहेको स्वास्थ्य शिविर अन्तर्गत आउँदो शनिबार विशेष आँखा शिविर पनि संचालन हुने भएको छ ।
आउँदो शनिबार पाटनको बुबहालमा हुने बृहत निःशुल्क स्वास्थ्य शिविरमा आँखा शिविरको साथै मुटुरोग र चिकित्सकको परामर्शमा निःशुल्क इको जाँच पनि हुन लागेको हो ।
शिविरमा डा. दिपंकर प्रजापति र डा. नग्मा श्रेष्ठबाट स्वास्थ्य जाँच हुने लमपा १६ वडाका वडाध्यक्ष निर्मल रत्न शाक्यले बताए ।
वडामा स्वास्थ्य सेवामा सबैको पहुँच सहज होस् भनेर समय समयमा यस्ता स्वास्थ्य शिविर संचालन गर्दै आएको वडाध्यक्ष शाक्यकाे भनाइ हाे ।
‘समयको अभाव, आर्थिक अभाव विभिन्न कारणले विरामीले उपचार नपाइरहेको अवस्था हुन सक्छ । यस्तो अवस्था कसैले भोग्न नपरोस् र स्वास्थ्य सेवा सहजै सबैले पाउन् भनेर शिविर आयोजना गर्दै आएका छौं’ वडाध्यक्ष शाक्यले भने ।
लमपा १६ वडा कार्यालय र अरनिको समाजले फागुन महिनादेखि प्रत्येक शनिबार १६ वडा भित्र विभिन्न स्थानमा निःशुक्ल स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।
यस अघि मंगलबजार, नकबहि, नागबहालमा शिविर संचालन भइसकेको छ । यस पटकको शिविर बुबहालमा हुन गइरहेको छ भने चैत्र महिनामा स्वथमा र अन्तिम शिविर मंगलबजारमै संचालन गरिनेछ ।
गत फागुन ५ गतेबाट सुरु भएको शिविर चैत्र १० गते सम्पन्न हुँदैछ । ।
Categorized in स्थानीय