२० बर्ष पुग्यो फेसबुक
SamacharDesk – Aakash Rajopadhyaya | २०८० माघ २१, आइतबार

विश्वको लोकप्रिय समाजिक संजाल फेसबुक आज २० बर्ष पूरा भएको छ । आज भन्दा ठिक २० वर्ष अगाडी आजकै दिन अर्थात सन् २००४ मा फेब्रुअरी ४ को दिन फेसबुकको स्थापना भएको थियो ।
कलेजका विद्यार्थीलाई एउटा नेटवर्कमा जोड्ने प्लेटफर्मका रूपमा जन्मिएको ‘द फेसबुक’ आज फेसबुकले विश्वभरि लोकप्रयता कमाइरहेको छ ।
अमेरिकाको हार्वर्ड विश्वविद्यालयका विद्यार्थी मार्क जुकरबर्गले आफ्ना सहपाठीहरू एडुवार्डो साभेरिन, एन्ड्रिउ म्याककोलुम, डस्टिन मोस्कोभिट्ज र क्रिस हग्ससँग मिलेर आफ्नो प्रोजेक्टको रुपमा आजकै दिन ‘द फेसबुक’ बनाएका थिए ।
पछि यहि ‘द फेसबुक’ फेसबुकको नामले विश्वभरी चर्चित बन्न पुग्यो । सन् २००५ मा यसको नामबाट ‘द’ हटाइ फेसबुक बनाइएको थियो ।
सन् २००६ को सेप्टेम्बर देखि यो सबैका लागि उपलब्ध भयो ।
फेसबुकका जन्मदाता मार्क जुकरबर्ग आजको दिन यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । फेसबुकको केन्द्रीय कार्यालय हाल अमेरिकाको क्यालिफोर्नियास्थित मेन्लो पार्कमा छ ।
कलेज प्रोजेक्टका रुपमा सुरु भएको ‘द फेसबुक’ विस्तारै अन्य कलेज, अमेरिका हुँदै विश्वभर फैलियो । आजको दिनसम्म आउँदा फेसबुकले कैयौं परिवर्तन ल्याइसकेको छ ।
२०२३ को अक्टोबरको तथ्यांकअनुसार फेसबुक विश्वमा सबैभन्दा बढी हेरिने वेबसाइटमध्ये तेस्रो स्थानमा छ । पछिल्लो तथ्यांकअनुसार फेसबुकका प्रयोगकर्ता हाल कम्तीमा ३ अर्बको संख्यामा छन् । तीमध्ये आधाभन्दा बढीले फेसबुक नियमित चलाउँछन् ।
२०२१ को अक्टोबरमा फेसबुक कम्पनीले आफ्नो नाम परिवर्तन गर्दै मेटा प्लाटफर्मस् इनकर्पोरेटेड राखेको थियो ।
सीईओ जुकरबर्गले सामाजिक सञ्जालभन्दा बाहिरका क्षेत्रमा काम विस्तार गर्न कम्पनीको नाम परिवर्तन गरिएको जनाएका थिए । कम्पनीअन्तर्गत फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि सञ्चालित छन् ।
स्थापना भएदेखि नै फेसबुकले विभिन्न प्रतिद्वन्द्वी प्लेटफर्महरूको सामना गर्दै आएको छ ।
अहिले शर्ट भिडियो प्लेटफर्म टिकटक फेसबुकको सबैभन्दा ठूलो प्रतिद्वन्द्वीका रूपमा लिएको छ । युवाहरु बिच अहिले पनि टिकटक नै लोकप्रिय छ ।
युवाहरुमाझ टिकटक लोकप्रिय हुने देखेपछि फेसबुकको मातृ कम्पनी मेटाले इन्स्टाग्राम र फेसबुकमा रिल्स फिचर ल्याएको थियो ।
त्यस्तै स्नापच्याटको स्टोरिज फिचर पनि मेटाले कपी गरेको भन्ने आरोप लाग्दै आएको छ ।
पछिल्लो समय सामाजिक सञ्जाल एक्स (ट्वीटर) सँग प्रतिस्पर्धा गर्न कम्पनीले थ्रेड्स नामको सामाजिक सञ्जाल ल्याएको थियो । थ्रेडस्ले अन्य प्लेटफर्म जस्तो लोकप्रियता पाउन भने सकेको छैन ।
विभिन्न रिपोर्टका अनुसार फेसबुकमा सक्रिय युवापुस्ता प्रयोगकर्ताको संख्या ज्यादै न्यून छ ।
सन् २०२२ को सुरुवातमै मार्क जुकरबर्गले सार्वजनिक रूपमै फेसबुकको इतिहासमै सक्रिय प्रयोगकर्ताको संख्या घटेको जानकारी दिएका थिए ।
यस्तै आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्न फेसबुकले प्लेटफर्म नै खरिद गर्ने गरेको आरोप पनि लाग्दै आएको छ ।
Categorized in विज्ञान-प्रविधी