arin enterprises

द्रुतमार्गमा लोडर दुर्घटनामा ३ चिनियाँको मृत्यु

SamacharDesk | २०७९ बैशाख २०, मंगलबार

निर्माणाधीन काठमाडौं तराई–मधेश द्रुतमार्गमा लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको छ ।

हिजो साँझ मकवानपुरको बकैया गाउँपालिका ११ भेटेपाखास्थित द्रुतमार्ग निर्माणस्थलमा लोडर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा ३७ वर्षका सु मिङवाओ, ५१ वर्षका झाङ सिस्यु र ५० वर्षका लुओ गुआविन छन् । दुर्घटनामा दुई चिनियाँ र एक नेपाली घाइते भएका छन । चालक मकवानपुर हेटौंडा ११ थानाभ¥याङका ४४ वर्षीय प्रितम लामाको शरीरका विभिन्न स्थानमा चोट लागेको छ ।

यता, गोरखामा जन्ती बोकेको जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । हिजो साँझ चितवनबाट जन्ती लिएर आएको जीप फर्कने क्रममा सिरानचोक गाउँपालिका आरूबोटेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौंका पदम न्यौपाने, गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका देवीप्रसाद पोखरेल र नवलपरासीको कावासोती नगरपालिकाका उत्तरकुमार सिग्देल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जीप आरूबोटेको फिरफिरे भिरबाट झन्डै दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Categorized in समाज