arin enterprises

काठमाडौं र भक्तपुरमा अलग अलग दिनमा पर्व

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७९ श्रावण २०, शुक्रबार

यसपालि नेपाल पञ्चाङ्ग निर्णायक समितिले जारी गरेको तिथिका अनुसार जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेको छ । समितिले आउँदो श्रावण २७ गते एकै दिन दुवै पर्व मनाउन भनेको छ ।

यसपालि प्रतिपदा तिथि टुट रहेको र २७ गते पुर्णिमाकै दिन थोरै समय प्रतिपदा तिथि रहेको भन्दै समितिले एकै दिन दुवै पर्व मनाउन भनेको हो । यसले गर्दा आम नागरिकलाई पर्व मनाउन अप्ठ्यारो भने परेको छ ।

पर्व नजिकिँदै गर्दा सरोकारवाला र विज्ञहरुबीच छलफलले तीब्रता लिँदैछ । यसै क्रममा गाईजात्रा र जनैपूर्णिमा काठमाडौं र भक्तपुरमा अलग अलग दिन मनाइने भएको छ ।

काठमाडौंमा भएको सरोकारवालाहरुको वैठकले आउँदो २७ गते जनैपूर्णिमा र २८ गते गाईजात्रा मनाउने निर्णय गरेको छ भने भक्तपुरले २६ र २७ गते मनाउने निर्णय गरेको छ ।

काठमाडौंमा ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समिति र ज्यापु संस्कृति विकास कोषले संयुक्त रुपमा आयोजना गरेको वैठकले २७ गते जनैपूर्णिमा र २८ गते गाईजात्रा मनाउने निर्णय गरेको छ ।

त्यस्तै नेवाः देय् दबू काठमाडौं महानगर समितिले पनि प्रा.डा. नरेशमान बज्राचार्य र काठमाडौंका आचार्य गुठीका राजगुरु मञ्जुश्री रत्न बज्राचार्य, फ्रेन्ड्स अफ शान्तिपुरका महेशमान बज्राचार्यलगायतको उपस्थितीमा भएको विचार गोष्ठीमा पनि २७ र २८ गते दुई दिन पर्व मनाउने निर्णय गरेको छ ।

 

यसैगरी भक्तपुरमा भक्तपुर नगरपालिकाले भने २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय सार्वजनिक गरेको छ ।

नगरपालिकाले भक्तपुर तलेजुका राजोपाध्याय मूल पूजारीका साथै कर्माचार्य र जोशी पूजारीसँग छलफल गरी यस्तो निर्णय गरेको जनाएको छ । ललितपुरमा भने यस सम्वन्धमा अहिलेसम्म कुनै किसिमको धारणा सार्वजनिक भएको छैन ।

Categorized in संस्कृति