arin enterprises

फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक

SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ २२, सोमबार

फिफाले फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक गरेको छ । मेक्सिको, अमेरिका र क्यानडा गरी तीन देशको सहआयोजकमा हुने यस प्रतियोगिता ३९ दिनसम्म चल्नेछ ।

आयोजक टोलीले आफ्नो घरेलु भूमिमा समूह चरणका तीन खेल खेल्नेछन् । तालिकाअनुसार ११ जुनमा मेक्सिकोमा प्रतियोगिताको उद्घाटन खेल हुनेछ भने फाइनल खेल १९ जुलाइमा न्यु जर्सीमा हुनेछ ।

कुल १०४ खेल हुने विश्वकपको खेलहरु १६ शहरमा खेल सञ्चालन हुनेछ । जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहरमा खेलहरु हुनेछन् । अमेरिकामा ७८ खेल हुनेछन् भने क्याडना र मेक्सिकोमा १३–१३ खेल हुनेछन् ।

विश्वकप २०२६ मा एसियाबाट ८ टिम, अफ्रिकाबाट ९ टिम, उत्तर अमेरिकाबाट ६ टिम,  दक्षिण अमेरिकाबाट ६ टिम, ओसियानाबाट १ टिम र युरोपबाट १६ टिम गरी ४६ टिम क्षेत्रीय प्रतिस्पर्धाबाट छनोट हुने भएको छ ।

बाँकी दुई टिम भने अन्तरमहादेशीय प्लेअफबाट छनोट हुनेछ । युरोपबाहेक अरु क्षेत्रका लागि भने प्लेअफ कोटा हुनेछ । समूह चरणका खेलका लागि किक–अफ समयमा प्रति दिन चार खेल हुनेछन् ।

यस्तै समूह चरणको अन्तिम चार खेलका लागि दिनमा ६ खेल हुनेछन् । १२ समूहका शीर्ष दुई टिम र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टिम गरी कुल ३२ टिम दोस्रो चरणमा पुग्नेछन् ।

खेल सुरु हुने समय भने सन् २०२५ को अन्त्यमा अन्तिम ड्र गरेपछि निश्चित हुनेछ ।

Categorized in स्पाेर्ट्स