चलचित्र पत्रकार संघकाे सम्मान कार्यक्रम स्थगित
SamacharDesk – बिजयरत्न | २०७८ जेठ १, शनिबार

हाल नेपालमा तिब्र रुपमा फैलिरहेको कोभिड १९ को नयाँ भेरिएन्टबाट सुरक्षित भई संचारकर्ममा लाग्न चलचित्र पत्रकार संघ नेपालले आफ्नो सदस्यहरुलाई आग्रह गरेको छ ।
संघले विज्ञप्ती जारी गर्दै संक्रमणको जोखिममा अग्रपंक्तिमा रहेर पत्रकारिता गर्ने आम संचारकर्मीहरुमासमेत कोरोनाको जोखिम दिनानुदिन बढिरहेको उल्लेख गर्दै सुरक्षित भई संचारकर्ममा लाग्न अनुरोध गरेको हो ।
संघले केन्द्रीय अध्यक्ष दीनेश सिटौलाको संयोजकत्वमा दुई सदस्य रहने गरि चलचित्र पत्रकार कोरोना विशेष समन्वय समितिसमेत गठन गरेको छ ।
संघको केन्द्रिय समितिको भर्च्युअल माध्यमबाट बसेको बैठकले सिटौलाको संयोजकत्वमा गठन गरेको समितिमा उपाध्यक्ष जीवन पराजुली र महासचिव समिर बलामि सदस्य छन् ।
समितिले चलचित्र पत्रकारहरुको वर्तमान अवस्था, कोरोना संक्रमित पत्रकारहरुको सुरक्षा र उपचारका लागि समन्वय, सहकार्य र सहजीकरणमा कार्य सम्पादन गर्ने बताइएको छ ।
चलचित्र पत्रकारहरुले आफ्नो अवस्थाको बारेमा समितिसँग समन्वय गर्न पनि संघले अनुरोध गरेको छ ।
साथै बैठकले जेष्ठ ७ गते २२औं राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा बार्षिक उत्सबको अवसरमा प्रदान गर्ने भनिएको सम्मान तथा पुरस्कार कार्यक्रम यो बर्ष पनि स्थगित गर्ने निर्णय गरेको छ ।
उपयुक्त समय हेरी वा अर्को बर्ष कार्यक्रमलाई निरन्तरता दिने निर्णय बैठकले गरेको संघले जनाएको छ ।
जेष्ठ ७ गतेका दिन भर्च्युअल माध्यमबाट बार्षिक उत्सबको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भने गरिने संघले जनाएको छ ।
