ललितपुरको इमाडोलमा आगलागी, पाँच जना घाइते
SamacharDesk – बिराज | २०८१ बैशाख २३, आइतबार

ललितपुरको बाफलमा भएको आगलागीमा पाँच जना घाइते भएका छन् ।
लतिलपुर महानगरपालिका–१७ ईमाडोल बाफलस्थित जस्ताको टहरामा आज आइतबार आगलागी भएको हो ।
आगलागीमा परी रौतहट राजदेवी नगरपालिका घर भई ललितपुर ईमाडोल बाफल बस्ने ३५ वर्षीय संजय गिरी समेत ५ जना घाइते भएको प्रहरीले बताएको छ ।
घाइते भएकाहरुलाई उपचारको लागि किष्ट अस्पताल लगिएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
इन्जिन आयल जम्मा गर्ने ठाउँमा अचानक आगलागी भएको प्रहरीले बताएको छ ।
पाँच वटा दमकल र तीन वटा पानी ट्यांकरको सहयोगमा स्थानीय वासिन्दा, जिल्ला प्रहरी परिसर जावलाखेल, नेपाली सेना, सशस्त्र प्रहरी बल, ललितपुर महानगर प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका थिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
Categorized in समाज