arin enterprises

काठमाडाैं महानगर प्रहरीले पत्रकारमाथि गरेको आक्रमणको महासंघबाट भत्सर्ना

SamacharDesk – बिराज | २०८० फाल्गुण १७, बिहिबार

नेपाल पत्रकार महासंघले समाचार संकलनको क्रममा रहेका पत्रकारलाई काठमाडौं महानगरका नगर प्रहरीले आक्रमण गरेको दावी गरेको छ ।

महासंघले विज्ञप्ती जारी गर्दै समाचार संकलन गर्न सुन्धारा पुगेका महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई नगर प्रहरीले आक्रमण गरेकोमा ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघका महासचिव रोशन पुरीबाट हस्ताक्षरित विज्ञप्तीमा फागुन १६ गते काठमाडौंको सुन्धारामा नगर प्रहरीले सडक व्यापारीलाई हटाइरहँदा भिडियो खिचिरहेको अवस्थामा पत्रकार पोखरेललाई नगर प्रहरीले आक्रमण गरेको जनाएको छ ।

पत्रकार परिचयपत्र देखाउँदा देखाउँदै पनि नगर प्रहरीले पत्रकार पोखरेलको मोबाइल फोन, क्यामेरा ल्यापटप, तथा अन्य कागजपत्रहरु जफत गरेको जनाएको छ ।

‘महासंघ प्यूठान शाखाका अनुसार फागुन १६ गते बुधबार साँझ काठमाडौंको सुनधारामा महानगर प्रहरीले सडक व्यापारीहरुलाई बलपूर्वक हटाइरहेको थियो । सोही विषयको भिडियो खिचिरहेको अवस्थामा पत्रकार परिचयपत्र देखाउँदा देखाउँदै पनि नगर प्रहरीले आक्रमण गर्दै पत्रकार पोख्रेलको मोबाइलफोन, क्यामेरा, ल्यापटप, तथा अन्य कागजपत्रहरु जफत गरेको शाखाले जनाएको छ’ विज्ञप्तीमा लेखिएको छ ।

नागरिकलाई सुसूचित गराउने जिम्मेवारी बहन गर्ने पत्रकारलाई नगर प्रहरीले गरेको हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको महासंघको ठहर छ ।

घटनामा संलग्न नगर प्रहरीलाई कारवाहीको दायरामा ल्याउनुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न महासंघले माग गरेको छ ।

साथमा जफत गरिएको पत्रकार पोख्रेलको सामग्री फिर्ता गर्न पनि महासंघले माग गरेको छ ।

Categorized in राष्ट्रिय