अलविदा फुटबल सम्राट पेले
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७९ पौष १५, शुक्रबार

फुटबल जगतमा विश्वले फुटबल सम्राटको उपमा दिएका ब्राजिलियन फुटबल खेलाडी पेलेको निधन भएको छ ।
केही समय अगाडीबाट मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित रहेका पेलेको ८२ वर्षको उमेरमा बिहिबार राति निधन भएको हो ।
जटिल स्वास्थ्य समस्याका बीच केही समय अगाडीबाट उपचाररत पेलेको विहिबार राति शरीरका अङ्गहरुले काम गर्न छोडेपछि उनको निधन भएको हो ।
संसारमा पेलेको नामले चिनिएका पेलेको वास्तविक नाम एड्सन आरान्तेस डे नामिमेन्तो हो ।
विश्व फुटबलको ईतिहासमा तीन पटक विश्वकप जित्ने पेले एक मात्र खेलाडी हुन् । १९५८, १९६२ र १९७० मा ब्राजिललाई विश्वकप जिताउन पेलेको अहम् भूमिका थियो ।
२१ वर्ष लामो पेलेको फुटबल करियरमा उनले १३६३ खेल खेले भने १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् ।
उनलाई फिफाले सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित गरेको थियो ।
उनले १५ वर्षको उमेरमा सेन्टोस क्लबबाट फुटबल खेल्न सुरु गरेका थिए ।
पेलेको निधनमा कतार विश्वकप २०२२ का विजेता अर्जेन्टिनी फुटबलर मेसी, एन्जेल डी मारियाको साथमा पोर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो, फ्रान्सेली फुटबर एमबाप्पे र ब्राजिलियन फुटबलर नेयमारलगायतले शोक व्यक्त गरेका छन् ।
Categorized in स्पाेर्ट्स