तारकेश्वर तीनपिप्ले सडक स्तरोन्नतीको शिलान्यास
SamacharDesk – बिराज | २०८० बैशाख १९, मंगलबार

तारकेश्वर धितालचोक चोगाउँ तीनपिप्ले बाटो स्तरोन्नतीका लागि शिलान्यास गरिएको छ ।
शनिबार जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य साथै पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, तारकेश्वर नगरपालिका–३ का वडाध्यक्ष परशुराम अर्याल र समाजसेवी उमाप्रसाद अर्यालले संयुक्त रुपमा सडक स्तरोन्नतीको शिलान्यास गरे ।
कसरा कन्सट्रक्सन प्रा.लि. टोखाले २०८० असार १५ गते आयोजना सम्पन्न गर्ने गरी ६१ लाख ९१ हजार २११.५६ रुपैयाँमा सडक स्तरोन्नतीको ठेक्का पाएको छ ।
जसपाका कार्यकारिणी सदस्य श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशान मन्त्री रहँदा सो मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागको ‘ग्रामीण सडक संजाल सुधार आयोजना’ बाट सो सडक स्तरोन्नतीका लागि रु. १ करोड बजेट विनियोजन गरिदिएका थिए ।
सडक स्तरोन्नती शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमन्त्री श्रेष्ठले जारी आर्थिक वर्ष सम्पन्न भएपछि पनि थप निर्माणको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
शनिबारकै दिन तारकेश्वर नगरपालिका–३ ठुलो खोला पाथमाने फेदीको सडक स्तरोन्नतीको पनि शिलान्यास गरिएको छ ।
सो अवसरमा पूर्वमन्त्री श्रेष्ठले तारकेश्वरमा लामो समयदेखि जीर्ण अवस्थामा रहेको मुड्कोदेखि तीनपिप्लेसम्मको सडक बनाउने ठेक्का लिएर नबनाउने ठेकेदारको सम्झौता आफु मन्त्री रहँदा तत्कालीन भौतिक मन्त्री रेणु यादवमार्फत रद्द गर्न लगाएको स्मरण गरे ।
‘काम नगर्ने ठेकेदारको सम्झौता रद्द गराएको केही समय पछि तत्कालीन भौतिक मन्त्री इस्तियाक राईसहित मैले यो क्षेत्रको भ्रमण गर्दा चार महिनामा बाटो बनाइदिने प्रतिवद्धता पोखेको थिएँ । सोही अनुसार पछि बाटो बनाइ दिएको थिएँ’ पूर्वमन्त्री श्रेष्ठले भने ।
सो बाटो बनेपछि अहिले सो बाटो भएर नुवाकोट जान र काठमाडौंको फोहोर फाल्न सिसडोल जान सहज भएको मन्त्री श्रेष्ठले दाबी गरे ।
आफु मन्त्री रहँदा तारकेश्वर देवीस्थानदेखि कोटसम्मको १४५ मीटरको झोलुङ्गे पुलको लागि पनि बजेट विनियोजन गरिदिएर अहिले निर्माण कार्य शुभारम्भ भएको पनि श्रेष्ठले बताए ।
कार्यक्रममा जसपाका पोलिटब्यूरो सदस्य बम दर्लामी मगर, राजन केसी, केन्द्रीय सदस्य सोनाम लामा शाक्य, बिमला अर्याल पुतुवार, नेवाः राष्ट्रिय समितिका अध्यक्ष श्यामकृष्ण प्रजापति, जसपा काठमाडौं जिल्ला अध्यक्ष अजित पुतुवार लगायतको उपस्थिती थियो ।
Categorized in समाज