arin enterprises

छत्रपाटी अस्पतालको ‘माउ बद्रि भवन’ को शिलान्यास

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ भाद्र २४, बिहिबार

छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको नयाँ भवनको शिलान्यास भएको छ । आज अस्पताल परिसरमा काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालको नयाँ भवन ‘माउ बद्रि भवन’ को शिलान्यास गर्नुभयो ।

भवन शिलान्यासको क्रममा महानगर प्रमुख शाक्यसहित उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, १७ वडाका वडाध्यक्ष नविन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमि पुजन गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख शाक्यले समयमा स्तरीय काम सम्पन्न गर्न आग्रह गर्दै अर्थको चिन्ता नलिन आश्वासन दिए ।

क्षेत्रपाटीमा १० आना १ दाम जग्गामा करीब ३५ करोड रुपैयाँ लागतमा नयाँ भवन निर्माण थालिएको हो । कोभिड संक्रमणको दोस्रो लहरको बेला महानगरले यस अस्पताललाई महानगरको कोभिड विशेष अस्पतालका रुपमा संचालन गरेको थियो ।

कार्यक्रममा महानगर उपप्रमुख खड्गी श्रेष्ठले सबै अधिकारमध्ये पनि नागरिकलाई स्वास्थ्य सम्बन्धी अधिकारको प्रत्याभूति गराउन आफूहरु प्रयासरत रहेको बताउनुभयो ।

वडा १७ का वडाध्यक्ष मानन्धरले ०७२ सालको भूकम्प, ०७५ मा महानगरमा फैलिएको डेंगु र अहिले विश्व महामारीको रुपमा फैलिएको कोभिडको समयमा चिकित्सालयले स्वास्थ्योपचारमा गरेको योगदानको प्रशंसा गर्नुभयो ।

अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अर्को साताबाट दैनिक १ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।

अस्पताल निर्माणको पहिलो चरणमा १२ करोड रुपैयाँको लागतमा भूमिगत १ तलासहित ७ तले भवनको स्ट्रक्चर तयार गरिनेछ ।

यसको लागि काठमाडौँ महानगरले २ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । यसमा थप २ करोड ५० लाख रुपैयाँसहित काठमाडौं महानगरपालिकाले ५ करोड रुपैयाँ दिने बताइएको छ ।

यसबाहेक अस्पतालको आन्तरिक आय र दाताहरुबाट प्राप्त हुने रकम प्रयोग गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अस्पतालमा हाल २४ घण्टै इमर्जेन्सी, शल्यक्रिया, जनरल वार्ड, आइसीयू, भेन्टिलेटर, प्याथोलोजी ल्याबसहित सबै प्रकारका सामान्य र विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा छन् ।

२०१७ सालमा राजनीतिक अस्थिरताको समयमा भएका झडपमा घाइते भएकालाई उपचार गर्न यस चिकित्सालयको उल्लेखनीय भूमिका रहेको छ ।

Categorized in समाज