arin enterprises

निफको चौथो संस्करण आजबाट शुरु

SamacharDesk – Bijay Ratna | २०७८ बैशाख २३, बिहिबार

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा वर्षेनी हुँदै आएको नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) को चौंथौं संस्करण आजबाट सुरु हुँदै छ ।

यो पटक फेष्टिभल अनलाइन माध्यमबाट हुने छ । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा सरकारले निषेधाज्ञा जारी गरेपछि ‘निफ’ अनलाइन हुने भएको हो ।

निफमा पहिलो दिन बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले आफ्नो अनुभव साट्ने छन् । अनुरागले चलचित्र सम्बन्धी आफ्नो करिअरका अनुभवहरू सुनाउने छन् ।

लेखकको रुपमा बलिउड करिअर सुरु गरेका अनुराग ‘सत्या’, ‘शूल’, ‘युवा’ जस्ता चलचित्रका पटकथा तथा संवाद लेखक हुन् । उनको पहिलो निर्देशन ‘पाँच’ हो भने ‘ग्याङ्स अफ वासेपुर’का दुई सिरिजबाट उनका सफल सिर्जना हुन् ।

‘मनमर्जिया’, ‘चोक्ड’, ‘मुक्काबाज’ जस्ता चलसचत्रको निर्देशन गरेका उनले ‘सेक्रेड गेम्स’, ‘लस्ट स्टोरिज’ पनि उनकै चलचित्र हुन् ।

यो फेष्टिभल नेट टिभीसँगै फेस्टिभलको पेजबाट लाइभ हुने कुरा आयोजकले जनाएको छ । चलचित्रहरुलाई अनलाइन माध्यमबाट प्रसारण गरिनेछ, जसलाई दर्शकले घरमै बसेर हेर्न सक्ने सुविधा प्रदान गरिने ‘निफ’का अध्यक्ष केपी पाठकले जानकारी दिए ।

अध्यक्ष पाठकले बताए अनुसार भौतिक रुपमै फेष्टिभल गर्ने तयारी भइरहेको थियो भने त्यसै को लागि नियमित सेड्युलबाट सारेर बैसाखमा ल्याइएको थियाे ।

तर परिस्थिति अनुकुल नभएकाले अनलाइन गर्न बाध्य भएको अध्यक्ष पाठकले भने ।

‘तर, यसले हामीलाई अझ धेरै दर्शकसम्म पुग्ने अवसर सिर्जना गरिदिएको छ र पहिला हामीसँग फेस्टिभल आयोजना स्थलसम्म आउने दर्शक मात्र हुन्थे भने अब संसारभरिका दर्शक हामीसँग हुनेछन् र यसले निफलाई दर्शकका पहुँचको हिसाबले पनि विश्वव्यापी बनाउनेछ’ पाठकले विश्वास व्यक्त गरे ।

Categorized in पेजथ्री