arin enterprises

फ्रान्ज बेकनबाउरको निधन

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष २४, मंगलबार

जर्मन लिजेण्ड फ्रान्ज बेकनबाउरको निधन भएको छ । फुटबलका महान् खेलाडीमध्ये एक मानिने बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको हो ।

उनको परिवारले सोमबार जर्मन समाचार एजेन्सी डीपीएमार्फत जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, ‘यो गहिरो दुःखका साथ हामी घोषणा गर्दछौं कि मेरा श्रीमान् र हाम्रा बुबा, फ्रान्ज बेकनबाउरको हिजो, आइतबार, शान्तपूर्वक निधन भएको छ’ ।

उनी जर्मनीको डिफेन्डर थिए । उनले पश्चिम जर्मनीका लागि १०३ खेल खेलेका थिए। बेकनबाउरले १९७४ मा पश्चिम जर्मनीको कप्तान भएर विश्वकप जितेका थिए भने १९९० मा प्रशिक्षकको हैसियतमा फेरि ट्रफी उचालेका थिए ।

जर्मन क्लब बायर्न म्युनिखको लागि उनले ५८२ खेल खेलेका थिए । बार्यनबाट पनि खेलाडी र प्रशिक्षकको रुपमा उनले लिगको उपाधि जितेका थिए । बायर्नबाट बेकनबाउरले चार लिग उपाधि र १९८२ मा ह्याम्बर्गसँग बुन्डेसलिगा पनि जिते थिए ।

उनले १९७२ मा युरोपियन च्याम्पियनसिप जितेक थिए भने दुई पटक बालोन डिओर ट्रफी उचल्न सफल भएका थिए ।

उनले सन् १९६६ को विश्वकपमा २० वर्षको उमेरमा चार गोल गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका थिए ।

बेकनबाउर ब्राजिलका मारियो जागालो र फ्रान्सका डिडियर डेसच्याम्प्ससँगै खेलाडी र प्रशिक्षक दुवैको रूपमा विश्वकप जित्ने तीन जनामध्ये एक हुन्।

Categorized in स्पाेर्ट्स