arin enterprises

कामपा १८ वडा काे निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

SamacharDesk – बिराज | २०८१ भाद्र ३, सोमबार

काठमाडौं महानगरपालिका १८ वडा कार्यालयबाट संचालित निःशुल्क स्वास्थ्य शिविरमा ५० भन्दा बढिमा मोतिविन्दुको समस्या देखिएको छ ।

गत शनिबार (भाद्र १ गते) कामपा वडा १८ शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा संचालित शिविरमा दुई सय भन्दा बढिको निःशुल्क आँखा जाँच गरिएको थियो भने तीमध्ये ५० जना भन्दा बढिमा मोतिविन्दुको समस्या देखिएको हो ।

मोतिविन्दुको समस्या देखिएकाको आँखाको शल्यक्रिया पनि निःशुल्क नै गरिने कामपा वडा १८ का वडाध्यक्ष न्हुछेँकाजी महर्जनले बताए ।

शिविरमा आँखा जाँचको क्रममा मोतिविन्दुको समस्या देखिएकाको आँखाको शल्यक्रिया आउँदो भाद्र १५ गते हुने र शल्यक्रिया पछि लाग्ने औषधी पनि निःशुल्क वितरण गरिने वडाध्यक्ष महर्जनले बताए ।

‘समयमै रोग पत्ता लागे उपचार सजिलै र समयमै गर्न सकिन्छ । र आर्थिक अभावकै कारण कोही पनि स्वास्थ्य उपचारबाट बञ्चित रहन नपरोस् भनी हामीले शिविर संचालन गरेका हौं’ वडाध्यक्ष महर्जनको भनाई हो ।

करीब दुई महिनाकाे अन्तरमा स्वास्थ्य सम्वन्धि शिविर संचालन गर्दै आइरकेको र वडामा आँखा सम्वन्धि समस्या बढि देखिएकाले शिविर संचालन गरिएको कामपा १८ वडाकी महिला वडा सदस्य हेराशोभा डंगोल महर्जनले बताइन् ।

‘हामीले विगतमा पनि आँखा शिविर संचालन गरेका थियौं । मोतिविन्दुको समस्या बढि देखिन थालेपछि यस पटक हामीले मोतिविन्दुको समस्यालाई नै केन्द्रमा राखेर शिविर संचालन गरेका हौं’ महिला वडा सदस्य डंगोल महर्जनले भनिन् ।

रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेश भन्ने भनाईलाई आत्मसात गर्दै निरन्तर यस्ता स्वास्थ्य शिविर संचालन गर्दै आएको वडा कार्यालयले जनाएकाे छ ।

कामपा १८ वडाले मातृका आइ सेन्टरको प्राविधिक सहयोगमा शिविरको आयोजना गरेको हो । 

Categorized in स्थानीय