arin enterprises

काठमाडौँ महानगर भित्र सामूदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण २०, मंगलबार

काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई काठमाडौं महानगरपालिकाले निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ । 

ज्ञानोदय माध्यामिक विद्यालय, बाफलमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण  गर्दै आज यसको शुभारम्भ भएको छ । 

काठमाडौँ महानगरपालिका वडा नम्बर–१४ की अध्यक्ष सोभा सापकोटाले स्यानिटरी प्याड भेन्डिङ मेसिनमा सिक्का खसालेर एउटा प्याड निकाली छात्रालाई हस्तान्तरण गरिन् । 

कार्यक्रममा सहभागी छात्राहरुले कैयन पटक विद्यालयमा पुगेपछि मासिक स्राव हुँदा प्याडको अभावमा घर फर्किनु परेको तीतो अनुभव सुनाउँदै विद्यायमै निशुल्क प्याड वितरणको व्यवस्था गरिएकोमा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रजस्वला भएका महिलालाई विभेद गर्नुनहुने बताउनुभयो । 

‘घरमा कोही महिलाको रजस्वला हुँदा उनीहरुको हेरविचार गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्ने सकारात्मक पाटो हो’ शाक्यले भन्नुभयो । ‘तर, चार दिन मेरो काम गर्ने पालो, उसले छोएको खानु हुँदैन भन्ने जस्ता विभेदपूर्ण व्यवहारमा परिवर्तन आउनु आवश्यक छ ।’

विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले छात्राले रजस्वला हुँदा विगतमा धेरै कठिनाई भोग्नु परेको सुनाउँदै चेतना जगाउने कार्यक्रम भएको बताउनुभयो । 

उहाँले पहिलो चरणमा पाँचदेखि १२ कक्षासम्म अध्ययन गर्ने करीब १४ सय छात्राको रजस्वला पिरियडलाई आधार मानेर १ लाख २० हजार प्याड टेण्डर प्रक्रियामा गएर खरिद गरेको जानकारी दिनुभयो । 

उहाँले भेन्डिङ मेसिन र डिस्पोजल मेसिन पनि खरिद गरेको जानकारी दिनुभयो ।   

काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईले महानरपालिका क्षेत्र भित्रका सबै सामूदायिक विद्यालयलाई प्रति छात्रा १ हजार ६ रुपैयाँका दरले बजेट निकासा गरी सबै विद्यालयमा पठाइसकेको जानकारी दिनुभयो ।

Categorized in स्थानीय